२२ असार २०७७, सोमबार

मेलम्ची, २२ असार । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ ।

आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो ।

परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङमार्गमा पठान्तरण गरिएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने खानेपानी मन्त्री विना मगरले अाइतबार पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV