२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । सत्तारुढ नेकपाभित्र उत्पन्न विवादको तरंगले अझै समाधानको रुप नलिदा सबैको अभिभावक मानिएको सर्वोच्च पद ‘राष्ट्रपति’ पनि मुछिने सम्भावना बढेको छ ।

आइतबार नेकपामा तीन शीर्ष नेताहरु शीतल निवास पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असंवैधानिक कदम चालेको खण्डमा साथ नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेर यस्तो आग्रह गरेपछि राष्ट्रपतिजस्तो सम्मानित संस्था समेत नेकपाको आन्तरिक राजनीतिमा मुछिने सम्भावना देखिएको हो ।

शीतल निवास पुगेका नेताहरुले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने आफुहरुको कुनै योजना नरहेको र यो असम्भव पनि भएको भन्दै बालुवाटारले चलाएको हल्लाको पछि नलाग्न राष्ट्रपति भण्डारीलाई सुझाएका थिए ।

‘खेल कसरी हुन्छ खेलिने प्रक्रिया जारी छ, बल नियन्त्रणमा भएको व्यक्ति बल जता लान्छ त्यतै कुद्ने प्रक्रिया नेकपा भित्र जारी छ’ नेकपाका एक नेताले न्यूज २४ संग भने, ‘अहिले नेकपा दुई बर्षदेखि ‘लिभिङ टुगेदर’मा बसेको जोडीको जस्तो अवस्थामा पुगेको छ ।’ उनले तर अब जोडीको सम्बन्ध कसिलो भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको लागि सहज दिन भने गएको टिप्पणी पनि न्यूज २४ सँग गरे ।

राष्ट्रपति सबैको लागि सम्मानित संस्था हो तर नेकपाको विवादमा चासो देखाए यसैको गरिमामा आँच आउने भएकोले नेताहरुले शीतल निवास पुगेर सम्झाएको पनि ती नेताको भनाइ छ ।

४५ मिनेट लामो कुराकानीमा नेकपा भित्र भएको विवाद र यथार्थको बारेमा समेत नेताहरुले राष्ट्रपति भण्डारीसमक्ष कुरा राख्दै बालुवाटारले कुनै कदम चाले सल्लाह गर्न सुझाएको पनि ती नेताले बताए ।

शीतल निवास भेटपछि अहिले दुई सहयोगी र साक्षी राखेर अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV