२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका २ वरिष्ठ नेता  राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको छ ।

आन्तरिक विवादका कारण नेकपा विभाजनको संघारमा पुगेको बेला नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुअघि प्रचण्ड २ वरिष्ठ नेता माधव नेपाल र झललनाथ खनाल  तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै संचालन गर्दा स्वेच्छाचारी ढङ्गले चलेको भन्दै पार्टीका अधिकांश नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपामा झनै संकट पैदा भएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर पार्टी विभाजनको संकेत गर्दै आफ्नो कित्ता क्लियर गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले राष्ट्रपति र आफूमाथि ठूलो षड्यन्त्र भइरहेको समेत मन्त्रीहरुलाई बताउनुभएको थियो । त्यसपछि अहिले अध्यक्ष प्रचण्डसहितका नेताहरू शीतल निवास पुग्नुभएकाे हाे । राष्ट्रपतिसँगको भेटपछि पुन: दुई अध्यक्षबीच छलफल हुुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV