२१ असार २०७७, आईतवार
  • शितल भट्ट

कञ्चनपुर, २१ असार । राष्ट्रिय वृक्षारोपण अर्थात् हरित वर्ष २०७७ अन्तर्गत बेलौरी नगरपालिकामा पनि बिरुवा वितरणका साथै वृक्षारोपण गर्न थालिएको छ ।

शनिबारदेखि विभिन्न प्रजातिका बिरुवा वितरण गर्दै नगरपालिकाका सम्पूर्ण वडाहरुमा वृक्षारोपण गर्न थालिएको हो । बेलौरी नगरपालिका- ४ का वडाध्यक्ष अर्जुन ढकालले राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण कार्यक्रम अन्तर्गत वृक्षारोपणका लागि आफूले माग गरेअनुसार विरुवा वितरण गरिएको जनाए । उनले त्यसका लागि त्रिपुरेश्वर कृषि समूहसँग सम्झौता गरी बिरुवा वितरणको जिम्मेवारी दिएको बताए ।

उनले वितरण गर्न लागिएका बिरुवाहरुमा फूल, फलफूल, डालेघाँस लगायत रहेको जनाउँदै सम्पूर्ण नगरवासीलाई आवश्यक पर्ने बिरुवाका लागि सम्बन्धित वडासँग सम्पर्क गरेर हरित वर्ष मनाउन नगरवासीमा आग्रह गरेका छन् ।

वडाध्यक्ष ढकालले शनिबार उग्रतारा बाल विद्यालयबाट बिरुवा वितरण सुरु गरिएको बताए । अब आग्रासन आधारभूत विद्यालय मोतिपुर र श्रीपुर स्वास्थ्य केन्द्रबाट बिरुवा वितरण गरिने पनि उनले बताएका छन् ।

महाकाली माध्यमिक विद्यालयका पूर्वप्राचार्य, समाजसेवी एवं बुद्धिजीवी प्रेमसिंह बोहराले वृक्षारोपणको महत्त्वबारे प्रकाश पार्दै यसले जलवायु परिवर्तनबाट निम्तिने अतिवृष्टि, अनावृष्टि, भू-क्षय, बाढी-पहिरोजस्ता प्रकोपको रोकथाम गर्ने बताए ।

उनले यस्ता प्रकोपले अकाल पर्ने, जसबाट सामाजिक सद्भाव बिग्रिने, अशान्ति फैलने आदि इत्यादि अप्रिय घटना घट्ने भएको हुँदा यसबाट जोगिन वृक्षारोपणले सहयोग पुर्याउने भन्दै यसतर्फ सबैले लाग्नुपर्नेमा जोड दिए ।

यस्तै, त्रिपुरेश्वर कृषि समूहका अध्यक्ष पदमपानी ढकालले माग गरेअनुसार नै बिरुवाहरु आइरहेको बताउँदै वृक्षारोपण कार्यक्रमको पालना गरी लगिएका बिरुवा नफाली, संरक्षण गरेर रोप्न आग्रह गरेका छन् ।

त्यस्तै, राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीका प्राविधिक महेश मिश्रले नेपाल सरकारले राष्ट्रिय वृक्षारोपण वर्ष मनाइरहेको सन्दर्भमा लम्कीले पनि मनाइरहेको बताए । उनले कञ्चनपुरको दक्षिणी भेगका बेलौरीसहित पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विभिन्न जातका फलफूलका बिरुवा, रुख प्रजातिका बिरुवा, भू-संरक्षणका निम्ति बाँस लगायतका बिरुवाहरु वितरण भइरहेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV