२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । कोरोना महामारीले पूरै नेपाललाई नै अस्तव्यस्त बनाएको छ । नेपालमा हालसम्म कोराेनाका कारण ३४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको दर पनि दिन-प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

तर कोरोनाको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा न भनेजस्ता व्यवस्थित क्वारेन्टाइन नै छन्, न त स्वास्थ्यकर्मीलाई व्यवस्थित उपकरण नै । यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैं जोखिम मोलेर उपचारमा खटिन बाध्य छन् । कोरोनाको महामारी सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेसनले यसलाई निरन्तरता दिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच मुगु जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मनघरी फाउण्डेसनको पहलम, आरम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

अगुवा कार्कीले भने, ‘जति सक्यो उति चाँडै हामी सम्बन्धित स्थानमा स्वास्थ्य सामग्रीहरु पुर्याउने छाैँ ।’  मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको उनले बताए । उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपत्तिमा सबैले एक-एक गरी सहयोग गरे यो कहरबाट मुक्ति पाइने बताए । आपत परेका बेला नै मानिसको सहयोगी मन पहिचान हुने भएकाले सहयोगलाई निरन्तरता दिन आचार्यले आग्रह गरे ।

यस्तै, आनी छोइङ डोल्मा फाउण्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले आफूहरुले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन् । यस्तै कार्यक्रममा सहभागी प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरुले साथ दिएसम्मको सहयोग उपलब्ध गराएको बताए ।

यस्तै, मनघरी फाउण्डेसन र दैलेखी सेवा समाजका सल्लाहकार डा रविन खड्काले विपदका बेला नेपालमा सम्हाल्न मनकारीहरु नै अगाडि आउने गरेको भन्दै सहयोगी हातहरु अरु पनि बढ्नुपर्ने बताए । मनघरी फाउण्डेसनले यसअघि दैलेखमा सबै स्थानीय तहका लागि तीनपटक, हुम्लाका सबै स्थानीय तहमा, डोल्पाका सबै स्थानीय तहमा, डोटीका दुई स्थानीय तहमा विभिन्न संघ-संस्थाहरुसँग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरु पठाइसकको अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।

सम्मान

कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको छ । साहलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । विगत लामो समयदेखि समाजिक सेवा क्रियाशील शाहको समाजसेवाप्रति उच्च सम्मान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

शाह आफ्नो क्षेत्रका नागरिक बिरामी हुँदा व्यक्तिगत खर्चमा हेलिकप्टर नै चार्टर गरी काठमाडौंका अस्पतालमा पुर्याउने त कहिले राहत लिएर गाउँमै पुग्ने शाहको समाजसेवालाई कदर गर्दै सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

शाहले कोरोना सुरु भएपछि पनि कर्णालीका दुर्गम क्षेत्रका लागि सहज होस् भनेर कर्णाली प्रदेशलाई एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जाजरकोटमा आफ्नै व्यक्तिगत लगानीमा अस्पताल खोलेका साहले दुर्गमका जनताका लागि थुप्रै सहयोग गरेका छन् । उनको सोही समाज सेवाको भावनाको सम्मान र आगामी दिनमा उनको यो सहयोग निरन्तर जारी रहोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV