२० असार २०७७, शनिबार
  • बालबिक्रम कार्की

रौतहट, २० असार । रौतहटमा दुई वडाध्यक्षसहित २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्षसहित २३ जना एकैपटक कोरोना संक्रमण जितेर घर फर्किएका छन् । सो नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर राकेश यादवका अनुसार वडा अध्यक्षसँग सो नगरपालिकामा कार्यरत ३ जना स्वास्थ्यकर्मी, २ जना वडा सदस्य, २ जना कार्यालय सहयोगी र एक कम्प्युटर अपरेटर र आइटी अफिसर पनि डिस्चार्ज भएका छन् ।अन्य डिस्चार्ज हुनेहरुमा क्वारेन्टाइनमा बसेकाहरु रहेका उहाँले बताउनुभयो । सो नगरपालिकाका जनप्रतिनिधिसहित नगरपालिकामा कार्यरत कर्मचारीहरुले गराएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएपछि सोही नगरपालिकामा निर्मित आइसोलेसनमा राखेर उपचार गरिएकोमा उनीहरु सबैको हेटौडा स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको हो ।एक साता अघि वडाध्यक्षहरुसहित नगरपालिका अन्य कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सो नगरपालिकामा त्रासको माहोल बनेकोमा सबैजना निको भएर घर फर्किएपछि जनजीवन बिस्तारै सामन्य हुँदै गएको सो नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवले बताउनुभयो । उहाँले संक्रमितहरु विना कुनै स्वास्थ्य समस्या विना निको भएर घर फर्कनु खुसीको कुरा भएको भन्दै कोरोनाबाट बच्न अझ बढी सर्तक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यता कोरोना संक्रमण मुक्त भएर घर फर्किनु भएका वडा नम्बर ७ का वडा अध्यक्ष विजयकुमार प्रसाद कुशवाहले आफु अझ बढि उत्साहका साथ जनताको सेवामा लागिपर्ने बताउनुभयो । जनताको काम गर्ने सिलसिलामा आफु संक्रमित भएपनि निको भएर फर्किपछि पनि जनताकै काममा निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उच्च मनोवल राखेमा कोरोनालाई सजिलै पराजित गर्न सकिने अनुभव सुनाउँदै उहाँले कोरोना लागिहालेमा नआतिन र मनोवल उच्च राख्न सुझाउनुभयो ।

सो नगरपालिकामा हालसम्म ७१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६९ जना निको भएर घर फर्किएका छन् भने २ जनाको देवाही गोनाहीको जय किसान मावि धरहरीको आइसोलेसनमा उपचार भइरहेकोछ ।

यसैगरी जिल्लाको चन्द्रपुर नगरपालिकाको आइसोलेसनबाट ३ जना संक्रमित पनि निको भएर फर्किएका छन् । उनीहरुको पछिल्लो पिसिआर रिर्पोटमा कोरोना संक्रमण नेगेटिभ भएपछि डिस्चार्ज गरिएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिनुभयो ।

देशमै सबैभन्दा बढी कोरोना संक्रमितको रुपमा परिचित रौहतटमा शनिबारसम्म १ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएर घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांक अनुसार शनिबारसम्म १ हजार २२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

अब रौतहटका विभिन्न आइसोलेसनमा अब १५ जना महिलासहित १ सय ७० जना मात्रै कोरोना संक्रमित छन् । जिल्लामा हालसम्म १३ हजार ३ सय स्वाब परीक्षण गरिएकोमा अब ८ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV