२० असार २०७७, शनिबार
  • बालकुमार शर्मा,

जाजरकोट, १९ असार । जाजरकोटमा महिला तथा बालबालिकाको सीप विकास तथा क्षमता विकासमा आएको बजेट जाजरकोटमा समयमै खर्च गर्न नसक्दा फिर्ता भएको छ ।

समाजमा पछाडि परेका वर्गका रुपमा मानिने महिला तथा बालबालिकाको क्षमता विकास र आत्मनिर्भर गरी सक्षम नागरिक निर्माण गर्न कर्णाली प्रदेश सामाजिक विकास निर्देशनालय सुर्खेतले विनियोजन गरी जाजरकोट पठाएको बजेट जस्ताको त्यस्तै फिर्ता भएको हो ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल सरकारले लकडाउन गरेसँगै जाजरकोटका पालिकाहरुमा गएर कार्यक्रम सञ्चालन गर्न कठिन भएकाले महिला तथा बालबालिका तर्फको कार्यक्रममा खर्च हुने बजेट फिर्ता भएको कार्यालयले जनाएको छ ।

जाजरकोटका भौतिक संरचना अभाव भएका विद्यालयमा आवश्यकता हेरी भौतिक संरचनालगायत महिला तथा बालबालिकाको क्षमता विकासलाई मुख्य प्राथमिकताका साथ काम गर्ने गरी स्थापना भएको सामाजिक विकास कार्यालयले महिला तथा बालबालिकाको क्षेत्रमा आएको बजेट कोरोना भाइरसका कारण खर्च गर्न नसकेको सामाजिक विकास कार्यालयका प्रमुख धन बहादुर विष्टले बताए ।

विद्यालयमा भौतिक संरचना निर्माणको लागि जाजरकोटका सात वटै पालिकामा रहेका २२ वटा विद्यालयमा भवन र १ वटा कवर्ड हल तथा खेल मैदान निर्माणको लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको पुजिगत तर्फको ७ करोड ५० लाख बजेट विनियोजन गरी विद्यालयलाई दिएकोमा हाल विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख विष्टले बताए ।

उनले भने, ‘सात वटै स्थानीय तहमा बजेट प्राप्त गरेका विद्यालयले भवन निर्माण गरेका छन् । भवन निर्माणको लागि २० लाख बजेट प्राप्त गरेको नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोटमा भवन निर्माण गर्ने स्थानका विषयमा स्थानीयहरुको विवादका कारण योजना सञ्चालन गर्न समस्या भएको छ ।’

उनले थपे, ‘अन्तिम समयसम्म विवाद समाधान गर्न नसकेपछि बजेट फिर्ता हुने बताउदै विकास निर्माणका लागि आएको बजेट विकासमै लगानी गर्न स्थानीयहरुलाई आग्रह गरेका छौं ।’

त्यस्तै, उनले शिक्षा क्षेत्रमा लामो समय विद्यालय निरीक्षक पदमा बसेर विद्यालय तर्फका कार्यक्रम गरेकोले भवन निर्माणका विषयमा समस्या नभएको बताए । भेरी नगरपालिकामा सञ्चालन भएको वहु प्राविधिक शिक्षालयमा ६ कोठे भवन निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएकोमा आगामी वर्ष १ करोडको कार्यक्रम सञ्चालन हुने बताए ।

बालबालिकाको लागि प्राप्त भएको बजेटबाट भेरी नगरपालिका ६ भेरे लक्ष्मी माध्यमिक विद्यालयमा १ लाख बराबरको शैक्षिक सामग्री बारेकोट गाउँपालिकाको नमुना बालबिकास केन्द्र कार्की ज्युलामा शैक्षिक सामग्री वितरण गरेको दृष्टि विहीन बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि चिप्लेटी अक्षर, रोडडीलगायत उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरेको प्रमुख विष्टले बताए ।

महिला तथा बालबालिका तर्फका कर्मचारी अभावले समयमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो । महिला, वालवालिकाहरुले आफ्ना भित्री कुराहरु सबैसँग भन्न लजाउने, भन्न नसक्ने, भएकाले सरकारले महिला कर्मचारीको व्यवस्था गर्न सकेमा सञ्चालित कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV