२० असार २०७७, शनिबार
  • सुशीलबाबु थकाली

मुस्ताङ, २० असार । हिमाली जिल्ला मुस्ताङको लागी गौरवको आयोजना मानिएको बेनी-जोमसोम-कोरोला सडक खण्ड अन्तर्गतको काम तोकेको समयसीमाभन्दा धेरै नै ढिलाइ भैसकेको छ । विभिन्न निर्माण कम्पनीले जिम्मा पाएको ७ खण्डको उक्त सडकको निर्माण कार्य अहिले कछुवाको गतिमा अघि बढेको प्रष्ट हुन्छ ।

लाखौं आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य मानिएको उक्त सडकको कामको प्रगति सन्तोषजनक नभएको पूर्व-वाणिज्यमन्त्री रोमि गौचन थकालीले बताउनुभयो । तोकिएको समय समाप्त भएर पुनः म्याद थप गर्दा समेत निर्माण कम्पनीहरू निदाएको भान भएको गौचनकाे भनाइ छ ।

हाल बेनीदेखि जोमसोमसम्मको अनुमानित ७६ किलोमिटर सडक-खण्डको कामको ढिलासुस्तीले आम नागरिकलाई कष्ट मात्र दिने गरेको पाइएको छ । बेलाबेलामा भयानक सडक दुर्घटना समेत खेप्नुपरेको सबैमाझ जगजाहेर हुँदापनी यसप्रति कसैको ध्यान गएको छैन । र उत्तरी सिमाना कोरोला नजिकका केही निर्माण कम्पनीले जिम्मा पाएको कामसमेत चुस्त रुपमा भएको छैन । सडक निर्माण सँगसँगै उचित व्यवस्थापन र आवश्यक मर्मत-सम्भार नहुँदा बर्सेनी आम नागरिक र सवारी चालकले सास्ती मात्रै खेप्नुपरेको छ । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको र धार्मिक रुपले करोडौंको मन जितेको मुस्ताङ जिल्लामा सडक निर्माण कार्य नै कछुवाको गतिमा अघि बढ्नु लज्जाको विषय भएको पुर्व-वाणिज्यमन्त्री गौचनले बताउनुभयो ।

बिहीबार विशेष कामको सिलसिलामा गृहजिल्ला मुस्ताङ आउनुभएका गौचनले सडक निर्माण कार्यलाई अझ बढी तीब्रता दिन सम्बन्धित निकायमा ध्यानाकर्षण समेत गराउने बताउनुभयो । उहाँले भन्नुभयो- ‘अब यो समय भनेको हातमा दही जमाएर बस्ने बेला होइन । जिल्लाका सबै सरोकारवाला निकाय यस कार्यमा सकारात्मक तवरले लाग्नुपर्छ ।’ यस वर्ष करोडौं रुपैयाँ फ्रिज भएर गएको सुन्दा दु:ख लागेको गौचनले बताउनुभयो ।

विसं २०५६ सालदेखि २०७३ सालसम्म राज्यको उच्च ओहोदामा रहेर आम जिल्लावासी र देशको हितमा काम गर्नुभएका गौचन अहिले पनि जिल्लाको विकास र समृद्धिका लागि सधैँ दत्तचित्त भएर लागिपरेको प्रष्ट हुन्छ । विसं २०७३ सालको प्रतिनिधि सभा चुनावमा आफूले हार बेहोरे पनि जनताको मन र मत सधैँभरिका लागि जितेको बताउनुहुने गौचनले आफूसँग जिल्लाको नाम विश्वव्यापी रुपमा उजागर गर्ने दृढ अठोट रहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV