२० असार २०७७, शनिबार
  • देवेशराज भट्टराई

अलि अगाडिको कुरा, सायद १० वर्ष बितिसक्यो । म सोसाइटी अफ नेपालिज आर्किटेक्ट्सको जनरल सेक्रेटरी थिएँ । त्यसताका, पाकिस्तान इन्स्टिट्युट अफ आर्किटेक्ट्सबाट पाल्नुभएकी एक महिला आर्किटेक्ट्ससँग नाङ्लो क्याफे दरबारमार्गमा चिया खाँदै गर्दा मैले काठमाडौँका नागबेली सडक, सहरको बिग्रँदो अवस्थाको बारेमा कुरा झ्वाट्ट निकालेँ ।

मैले यतिसम्म पनि भनेँ कि हरेकचोटि सहरबाट बानेश्वरमा भएको मेरो घर ज्ञानेश्वर र मैतिदेवीको साँघुरो बाटोबाट जाँदा कुन कुनामा पुगेको जस्तो लाग्छ भने, वहाँले दिएको मिठो जबाव अहिले पनि मेरो कानमा गुन्जिरहन्छ् । वहाँले भन्नुभो, ‘साउथ एसियाका थुप्रै शहरहरुको, कराँचीलगायत काठमाडौँजस्ता धेरै सहरहरुको लगभग उस्तै अवस्था छ । कतिपय सहरहरुले चाँडै फड्को मारे । केही सहर अझै पनि भुमरीमा छन् । बस्, काम सुरु हुनुपर्यो, एउटा सहरको कायापलट हुन जम्मा दस वर्ष लाग्छ ।’

अहिले सोच्दा दस वर्ष त, निमेसमै बितेछ । तर एउटा कुरा चाहिँ भयो, बाटोचाहिँ ठूलो है, थोरै दुरदर्शिता त पक्कै भएको छ । तर यो सबैमा पीडित पक्षको अनुपातमा सुविधा उपभोग गर्न पाउनेको अनुपात धेरै भएको हुनाले मेरो मुटुमाथि परेको ढुङ्गाको बोझ मैले अहिले बिर्सिसकेँ । अरनिको राजमार्गको विस्तार हुँदा पनौतीदेखि पलान्चोक र अझ त्यो भन्दा पनि पर दोलखाका सामान्य नागरिकहरुलाई काठमाडौँ घरमुनिको पँधेरोजस्तो भएको छ, भन्ने ठान्छु म । खोइ दोलखाकी कान्छी आमाले बिर्सिनुभो कि ? त्यतिवेला फोनमा तेरो काकाले गरीखाने खेत त कसरी मुखैमा काटे भन्दै थिइन् । पछि भनिन्, ‘त्यो पनि एकप्रक्रारको समाजसेवा हो बाबु ! अब के गर्ने, खाइयो प्रशस्त धान, त्यो खेतको भनेर चित्त बुझाइन ।’

विधिको विडम्बना हो, केही पाउन केही गुमाउनैपर्ने रहेछ । म पनि निस्कन्छु, कहिलेकाहीँ राइडमा, हिजोका मसलाका रुखहरु कतिका घरका आरामदायक कुर्सी र कतिका जिब्रो फड्काउने स्वाद पाउने मःम बनाउने दाउरा अनि कतिका अस्तु सेलाउने साधन भइएसके । हाम्रा वातावरणविदहरु चाहिँ ती चिल्ला सडकमा गाडी गुडाउँदै फोटो खिचेर सडकको उपहास गर्न पछि पर्दैनन् । अब बाँकी रिङरोडको विस्तारको कुरा गरेर के समय फाल्नु, सीधै विषयमा प्रवेश गरौँ ल !

प्रसङ्ग मेगा हलको

प्रसङ्ग मेगा हलको हो जसको पारुप मैले तयार गरें१ त्यो प्रारुप तयार गर्दा मेरो स्कुले जिबन देखी अहिले सम्मको कुरा फेरी अगाडी राख्छु । यो भृकुटी मन्डपमा स्कुलबाट भागेर पनी रमाइलो गर्न आइएको थियो जस्तो लाग्छ्, सायद होइन कि रु तर नेपाल टुरिजम बोर्डको इथिनिक म्युजियम र फन पार्क बनाउने सिलसिलामा धेरै चक्कर काटेँ मैले । त्यो वरिपरिको चाइना मार्केट घुम्दा कहिले माथि हेर्दिनँ म । तर कहिलेकाहीँ माथिको त्रिपालको दुरावस्था र अनगिन्ती छिद्रबाट सीधा घाम आँखामा पर्दा कतै दौडिहाल्नु परे के गर्ने, दिमागलाई सजग राख्छु म । पूरा एक किलोमिटर लामो अर्कै संसारमा करिब १४०० पसलहरु कसरी उब्जिए ? अचम्म लाग्छ । र प्रदर्शनी हल र फन पार्कबाहेक अरु व्यापारिक कृयाकलापको उपादेयता सायद समयले बताउला, म जान्दिनँ ।

हिजोको दिन मेरी आमासित मामाघर जाने क्रममा त्यो टुँडिखेलको खरिको रुख फेद नजिकैबाट तोप पड्काएको आवाजले कान जिरिङ्ग हुन्थ्यो । अनि त्यही छेउबाट रङ्गशालाको उत्तरतिरको गेटबाट फुटबल हेर्न दौड्दै छिरेको, त्यहाँ अवस्थित पार्टी हलमा कहिलेकाहीँ १–२ पेग ह्विस्की पनि सँगै याद आउँछ । आज समयले नेटो काटिसक्यो । ससांर कहाँ पुगिसक्यो, नेपालीहरुले अमेरिकनजस्तै टाईसुट लगाउन मात्र बाँकी छ । तर पौडी बाज बन्नलाई स्विमिङ पुलमा नछिरीकन युटुब भिडियोबाट जो हामीले सिक्न थाल्यौँ, उपद्रो त्यहीँबाट सुरु भएको हो कि लाग्छ मलाई । कुनै काम सुरु नै हुनुभन्दा अगाडि बिगुल बजाउन जो हामीले सिक्यौँ, यसले नेपाललाई के अगाडि जाने बाटो सिकाउला त ?

मेरो एकजना आर्किटेक्ट साथीले करिब २० वर्षअगाडि लेखेको लेख एक दिन मजासित पढेको थिएँ । रीतिथिति हिजोका कागजमा धेरै बिग्रेता पनि केही सुधारात्मक कामका लागि यस्ता महत्वपुर्ण योजनाले अवश्य बाटो देखाँउछ । नभए नेपाल टुरिजम बोर्डजस्ता २० वटा अफिस र अर्को १४०० वटा ससाना किओस्क स्टल, बजारमा बसेर गुगुल ग्लासभित्रको संसारबाट फेरी केही लेखुँला है, मित्रहरु ।

अब नेपालमा जादुगरी विश्वकर्मा आएर केही ठुलो काम गर्न मात्र बाँकी छ । हामी त कुखुरा पहिला या अण्डा पहिला भनेर खालि सोच्दै बस्ने कि विगत ६० वर्षदेखि प्रदर्शनी स्थलको नामले प्रचलित ठाउँमा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न स्टेट अफ आर्ट प्रदर्शनी स्थल बनाउने ? ल भन्नुस् । नेपाल हाँक्ने यस्तै १० वटा अरु योजनाहरुबाट जब हामी छलाङ मार्छौं, अनि भावी पुस्तालाई केही दिने सामर्थ्य राख्छौँ । नभए हिजो मल्लकालमा निर्मित धरोहरले नेपाली वास्तुकलाको छवि कतिसम्म थेक्न सक्ला ? एकै छिन रनभुल्लमा परेँ है म त ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV