२० असार २०७७, शनिबार
  • मनिराज पाण्डे

कालिकोट, २० असार । कर्णाली प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिनसक्ने जोखिम रहेकाले प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गररिहेको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भयो । भारतबाट आउनेको चाप बिस्तारै घट्दै गएकाले अबको परीक्षण समुदायस्तरमा गर्ने तयारी भएको रावले बताउनुभयो ।

कर्णाली प्रदेशका क्वारेन्टिनमा रहेका, संक्रमितसँगको सम्पर्कमा आएका, आरडीटी विधिबाट परीक्षण गरेर घर पठाइएका, जेष्ठ नागरिक र दीर्घ रोगीहरुको कोरोना परीक्षण गर्ने प्रदेश सरकारको तयारी छ । संक्रमणको जोखिममा रहेका व्यक्ति र क्वारेन्टिनबाट आरडीटी गरेर घर पठाइएकाहरुलाई पहिलो प्राथमिकता दिएर परीक्षण गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताउनु भयो ।

समुदाय स्तरमै पीसीआर परीक्षण गरेर रेड, एल्लो र ग्रिन बस्ती पहिचान गर्ने तयारीमा रहेको तिवारीले बताउनु भयो । क्वारेन्टिन र आइसोलेसनका मान्छेहरु कम भएलगत्तै समुदायमा जाने प्रदेश सरकारको तयारी छ ।

कर्णाली प्रदेशमा ८० प्रतिशत कोरोना जितेर घर फर्किए

कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८३ जना पुगेको छ । कुल संक्रमित मध्ये १ हजार १ सय ७८ जना अर्थात ८० प्रतिशत कोरोना जितेर घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ । २ सय ९९ जना आइसोलेसनमा छन् । कुल संक्रमित मध्ये १ हजार ३ सय ७८ जना भारत लगायत अन्य मुलकबाट कर्णाली प्रदेश फर्किएका हुन् भने १ सय ५ जना संक्रमितको सम्पर्कमा गएपछि कोरोना संक्रमित भएका स्थानीय हुन् ।

स्थानीय संक्रमितहरुमा २३ जना स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसन सुरक्षामा खटिएका सुरक्षाकर्मी ५३ जना, ३ जना जनप्रतिनिधि र १५ जना गाउँका अन्य ब्यक्तीहरु छन् ।

मेसिन बिग्रिदा परीक्षणमा थप समस्या

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको पीसीआर मेसिन बिग्रिएपछि परीक्षणमा थप समस्या आएको छ । पीसीआर मेसिनको हार्डवेयरमा समस्या आउँदा परीक्षणमा समस्या आएको महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताउनुभयो । पीसीआर मेसिन बनाउन आउने मान्छे बाहिर देशबाट आउनु पर्ने र अन्तराष्ट्रिय उठान बन्द भएकाले समस्या आएको डाक्टर तिवारीले बताउनु भयो ।

कोरोना परिक्षण परीक्षणका लागि थप नयाँ २ वटा पीसीआर मेसिन ल्याउने तयारी भएको डाक्टर तिवारीले बताउनु भयो । कर्णाली प्रदेशमा हाल जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख जिल्ला अस्पतालमा र रुकुमपशिचमको चौरजहारीबाट कोरोना संक्रमण परीक्षण भइरहेको छ ।

आरडीटीमा भर पर्दा ६ जनाको मृत्यु

आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएका सुर्खेत पञ्चपुरीका एक युवकको घर पुग्ने वित्तिकै मृत्यु भएको थियो । मृत्युपछि पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।

उपचारका लागि सुर्खेत आएका डोल्पाका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । सुर्खेतबाट जुम्ला हुँदै डोल्पा पुगेका उनलाई कोरोना संक्रमणको आशंकामा आरडीटी विधिबाट परीक्षण गरियो । रिर्पोट नेगेटिभ आएपछि घर गएका उनको त्यही राति मृत्यु भयो ।

मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भयो। क्यारेन्टायनमा बसेकाहरुलाइ आरडीटी परिक्षण गरेर घर पठाउदा कर्णालीमा कोरोना संक्रमण बढेको स्वास्थ्यका जानकारहरु बताउन्छन् । कर्णाली प्रदेश सरकारले पीसीआर परीक्षणलाइ गाउँ गाउँ सम्म पु¥याउन सके कोरोना संक्रमण कमहुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV