१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९ असार । नेकपाभित्र पछिल्लो समय देखिएको भनेको ‘इगो क्लास’ हो । न त यो जनताका लागि आवश्यकता देखिएका कारण भइरहेको छ न त सरकारका सही र गलत कामलाई तराजुमा तौलिएर भइरहेको द्वन्द्व हो ।

यो त पार्टीभित्र माथिल्लो तहका नेताबीच देखिएको शक्ति संघर्ष हो । जसले अहिले अवस्था पार्टी फुट उन्मुख छ । अध्यक्षद्वयसहित अन्य नेता वार कि पार गर्ने मुडमा देखिँदा नेकपाकै तेश्रो तहका नेता भने विवाद मिलाउनकै लागि हस्तक्षेप बढाउन थालेका छन् ।

पछिल्लो समय नेकपाभित्र हरेक महिना आन्तरिक द्वन्द्वले ठूलै घटना निम्त्याउने गरी केही नाटकीय मोड लिने गरेको छ । खास गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले मोर्चा कसेपछि विवाद चरम विन्दुमा पुग्ने गरेको छ ।

अहिले केही दिन यता पनि यस्तै समस्या देखिएको छ । शीर्ष नेताहरुबीचको टकरावले नेकपा विभाजनको संघारमा पुगेपछि दोस्रो र तेस्रो पुस्ताका नेताहरु विवाद मिलाउन लागिपरेका छन् । जसमा अग्रणी भूमिाकामा छन्, घनश्याम भुसाल ।

उनकै संयोजकत्वमा पुल्चोकस्थित सरकारी निवासमा नेकपाका दोस्रो तहका ११ नेताहरुको बैठकले हस्तक्षेप गर्ने निर्णय लिएका छन् । विवादमा हेलिएका पार्टी नेतृत्वमाथि दबाब बढाउन तीन बुँदे सुझाव निकालेका छन् ।

११ जनाको नेतृत्वलाई सुझाव :

  • १. पार्टी नेतृत्वको तर्फबाट अब विवाद बढाउने कुरा कसैले पनि नगर्ने ।
  • २. एकताका आधारहरूको पहिचान गर्ने ।
  • ३. र, हालसम्मका कमी कमजोरीको समीक्षा गर्दै तिनलाई टेकेर अघि बढनुपर्ने ।

यि सुझावलाई अध्यक्षद्वय सामु पेश गर्ने भुसालसहित ११ नेताको तयारी छ । शनिवार बिहान बस्ने स्थायी कमिटीको बैठकमै भएपनि पेश गरेर विवाद समाधानका लागि हस्तक्षेप गर्ने सोच बनाएका छन् ।

यसैबीच नेतृत्वको शक्ति संघर्षका कारण फुटमा पुग्न लागेपछि अन्य नेताहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टी एकता सुदृढ गर्न र जनताको हितमा कदम चाल्न नेतृत्वसँग उनीहरुको माग छ ।

तत्काल पार्टी फुटाउन शीर्ष नेता उद्दत रहेपनि अवस्था सोचे अनुसार नहुने पक्का छ । ११ जनाको हस्तक्षेप सुरुवाती भएपनि यसमा अन्यको पक्कै पनि साथ रहने देखिन्छ ।

जसले नेतृत्वको शक्ति संघर्षसँगै उब्जिएको पार्टी विग्रहको भयलाई कम गर्न पक्कै दबाब मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV