१९ असार २०७७, शुक्रबार
  • बसन्त खतिवडा,

बारा, १९ असार । सत्तारुढ दलकै पूर्ण बहुमत हुँदा हुँदै पनि बाराको जितपुर सिमरा उपमहानगरपालिकाले आजसम्म नगरसभा गर्न सकेको छैन । कानूनले तोकेको समयभित्र नगरसभा गर्न नसकेको जिल्लाको तीन स्थानीय तहमध्ये एक स्थानीय तहले नगर सभा गरिरहँदा जितपुर सिमराको अवस्था भने लथालिङ्ग छ  ।

१६ स्थानीय तह रहेको जिल्लामा १३ स्थानीय तहले मात्र असार १० गतेभित्र नगर तथा गाउँ सभा गरी बजेट ल्याएका छन् । जिल्लाको कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाले समयमा नगरसभा गर्न सकेको छैन  ।

आजको मितिसम्म जिल्लाको जितपुर सिमरा उपमहानगर, कोल्हवी नगरपालिका, बारागढी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो ।

अघिल्ला वर्षको खर्च विवरणलाई पारदर्शी ढंगबाट प्रस्तुत गर्न नसक्नु र मनोनित कार्यपालिका सदस्यलाई समेत वडाध्यक्ष सरहको बजेट व्यवस्था गर्नुपर्ने जस्ता कारणले गर्दा नगरसभा हुन नसकेको वडा नं. ७ का वडाध्यक्ष रामवावु गुप्ताले बताए ।

‘अघिल्लो वर्ष समेत मेयर सा’बले हामीलाई झुक्याउनु भयो’, गुप्ताले भने, ‘पहिला नगरसभा गरौं । त्यसपछि तपाईहरुले उठाएका विषयमा प्रष्ट पार्छु, भनेर यसपटक पनि खर्च विवरण दिन आलटाल गरिरहनुभएको छ ।’

यसैबीच नेपाली काँग्रेस जीतपुर सिमरा नगरसमितिले आज नगरप्रमुख डा. कृष्ण पौडेललाई भेटेरै ध्यानाकर्षण गराएको छ ।

नगरसभापति श्यामवावु गुप्ताको नेतृत्वमा करिब ४० जनाको समूहमा गएका कांग्रेस कार्यकर्ताले नगरप्रमुखका कारण भ्रष्टचार संस्थागत भएको, अघिल्लो वर्षहरुको समेत खर्चको विवरण उपलव्ध गराउन नसकेको लगायतका विषय समेटेको नगर सभापति गुप्ताले जानकारी दिए ।

यता ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख डा. पौडेलले ज्ञापन पत्रमा भएका समसामयिक विषयप्रति नगरको ध्यानाकृष्ट भएको भन्दै सुझावका लागि धन्यवाद दिए । साथै, आगामी दिनमा सहकार्य गरेर काम गर्न आफू र नगर तयार रहेको बताए ।

ज्ञापन–पत्र बुझाएपछि नेपाली काँग्रेस नगर कार्यसमितिले सिमरामा पत्रकार सम्मेलन गरी आफूले उठाएका मागहरुका बारेमा पत्रकारलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV