१९ असार २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, १९ असार । कोरोना भाइरसका कारण देशमा लकडाउन भइरहेको बेलामा पनि भक्तपुरका स्थानीय जनताहरु श्रमदानका लागि कोभिड १९ लाई चुनौती दिदैं तःमारीमा जम्मा भए ।

भक्तपुरको तःमारीमा रहेको बिश्व प्रसिद्ध ङातापोल्हँ मन्दिर जिर्णोद्धारका लागि एकै दिन ४ सय ८ जना सम्मले श्रमदान गर्न आएका थिए । साउन महिनाको झरीलाई ध्यानमा राखेर सम्पदा जोगाउन असार मसान्त भित्र सम्पन्न गर्नु पर्ने थियो ।

स्थानीयको श्रमदानका कारण ३ सय १ बर्ष पूरानो बिश्वप्रसिद्ध ङातापोल्हँ मन्दिरको जिर्णोद्धारको काम समयमा नै बिहीवार सम्पन्न भएको छ ।

२०७२ सालको बिनाशकारी भूकम्पले सबै भन्दा माथिको तल्लामा ईट्टाले बनाएको गार्हो भत्किएको र अरु छानाहरुको झिंगटी अलिअलि बिग्रेको बाहेक अन्य ठूलो क्षति नभएको मन्दिरको जिर्णाेद्धार गर्ने काम सम्पन्न भएको छ ।

ङातापोल्हँ मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समिति मार्फत २०७६ मंसिर २५ गतेबाट जिर्णोद्धार गर्ने काम शुरु गरेको थियो । मन्दिरको सबंै भन्दा माथिल्लो तल्ला पूरै भत्काएर मर्मत गरेको थियोे । उपभोक्ता समितिका अनुसार २२ सय भन्दा बढी बाँस प्रयोग गरी मंसिरको ७ गतेबाट बाँसको खट बान्न शुरु गरेको थियो ।

मन्दिरमा मंसिर २५ गते खट बान्ने काम सकेर सबै भन्दा माथिल्लो तल्लाको झिंगटी झिक्ने काम शुरु गरेको थियो । फागुनको ७ गते गजुर झिक्ने काम गरी बिग्रेको एक तल्ला भत्काएर चैत १ गतेबाट पुनः गार्हो लगाउने काम शुरु भएको थियो ।

कोराना भाइरसका कारण लकडाउन भएर चैत ११ गते देखि बैशाख ५ गते सम्म काम पूर्णरुपमा बन्द भएको थियो । लकडाउनको समय भएयता पनि बिभिन्न समस्याका कारण असार मसान्त भित्र सकाउनु पर्ने बाध्यता भए पछि २०७७ बैशाख ६ गतेबाट पाचौं तल्लाको छाना छाउने काम शुरु गरेको थियो ।

लकडाउनका कारण जिल्ला प्रसाशन कार्यालयसँग समन्वय गरेर बैशाख ६ गतेबाट काम शुरु गरेकोे थियो । सो दिन देखि नगरका बिभिन्न वडा, टोल, गुठी, दाफ, भजन खल, बिभिन्न समूह, क्लव र जनप्रतिनिधिहरु लगायत नगरवासीहरुले श्रमदान गर्दै आएका थिए ।

झिंगटी राख्नेकाम सकाउदै खट निकाल्ने काम गर्दै आउदा असार १३ गते पाँचौं तल्ला (सबै भन्दा तलको) झिगटी राख्ने काम शुरु गरी असार १८ गते छाना छाउने काम सम्पन्न गरेको थियो ।

झिगटी सफा गर्नको लागि बिभिन्न समूह, टोलका ३ सय २१ जना महिलाहरुले श्रमदान गरेका छन् भने छानामा झिंगटी छाउन माटो मुछ्ने, ओसार्ने, झिंगटी ओसार्ने लगायतका कामको लागि ३ हजार १ सय २२ जनाले श्रमदान गरेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएको ङातापोल्हँको सबै भन्दा माथिको तल्ला जिर्णोद्धार गर्ने काम ४ बर्ष पछि बिहीवार सम्पन्न भएको छ । मन्दिर जिर्णोद्धारका लागि ख्वपः कलेज अफ ईन्जिनियरिङ टिम लगायत बिभिन्न पुरातत्व बिज्ञहरु, संस्कृतिविदहरु सँग छलफल गरेर सुझावहरु संकलन गरी ख्वपः कलेज अफ ईन्जिनियरिङको टिमको निगरानीमा उपभोक्ता समिति मार्फत काम शुरु गरेको थियो ।

ङातापोल्हँ जिर्णाेद्धारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख बजेट बिनियोजन गरेको भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले बताउनु भयो । उक्त मन्दिर जिर्णोद्धारको लागि चन्दा संकलन पनि गर्ने जनश्रमदान पनि गराउने बताउनु भयो ।

त्यस्तै जनश्रमदानको सिलसिलामा जनप्रतिनिधि लगायत नगरपालिकाका कर्मचारीहरु समेतले पनि श्रमदान गरेको छ ।

कोरोना भाइरसका कारण देशमा लकडाउन भैरहेका अवस्थामा पनि भक्तपुर जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरेर काम भइरहेको उपभोक्ता समितिका संयोगक केशव तमखुले बताउनु भयो । उहाँले जिर्णाेद्धारकालागि बिभिन्न समितिहरु गठन गरिएको बताउँदै श्रमदान धेरै आईरहेको हुनाले ईष्टिमेट लागत भन्दा कम बजेटमा काम सकिने बताउनु भयो ।

त्यस्तै असार १८ गते छानाको सम्पूर्ण काम सकिएको छ । छानाको काम सकिंदा सम्ममा महिला पुरुष गरी कुल ३ हजार ४ सय ४३ जनाले श्रमदान गरिसकेको उपभोक्ता समितिका सदस्य तथा ज्यामी नाईके पूर्ण गोपाल राजचलले जानकारी दिनुभयो ।

जनश्रमदान बाहेकका ज्याला दिनु पर्ने सिकर्मी, डकर्मी मिस्त्रीहरु २ हजार २ सय १२ जना पुगेको बताउदै अव एक तल्लाको खट खोल्न बाँकी रहेको राजचलले बताउनुभयो ।

श्रमदानमा अभिभवाकहरु सँग बालबच्चाहरु पनि रमाईलो गर्दै काममा अभिभावकलाई सघाईरहेको देखिन्छ भने ८९ बर्ष सम्मका जेष्ठ नागरिकहरु समेत आफुले सक्ने काम गरेर नाँचगान गर्दै श्रमदान गरिरहका थिए ।

मठ मन्दिर तथा सामाजिक कार्यमा आफुले सक्ने सहयोग गर्न पाए पूण्य कमाईन्छ भने उहाँहरुको विश्वास छ । श्रमदान गर्न आउने स्थानीयहरुले खाजाको समेत आफै व्यवस्थापन गरेर आउने गरेका थिए ।

तिथि अनुसार असार शुक्लपक्ष प्रतिपदाका दिन गत नेपाल सम्वत ११४० असार ०८ गते बिश्व प्रसिद्ध ङातापोल्ँह (पाँचतले) मन्दिर को ३१८ बर्ष पूरा भई ३१९ बर्षबन्ध (बुसादाँ) मनाएको छ ।

प्रत्येक बर्ष असार शुक्लपक्ष प्रतिपदामा ङातापोल्हँ मन्दिरको बिशेष पूजा गरी मन्दिरको गजुरमा झण्डोतोलन गर्ने परम्परा छ ।

सो दिन पूजामा बोका बली दिने परम्परा रहेता पनि यो बर्ष लकडाउनका कारण सबै मन्दिरमा सामान्य पूजामा सीमित रहेकाले बली नदिई सामान्य पूजा गरी झण्डोतोलन गरी मनाएको पुजारी पदम कर्मचार्यले बताउनु भयो । मन्दिरमा पूजा गर्न राजउपाध्याय, कार्मचार्य, जोशी, र ताल्चाभडेल पुजारीहरुले पुजा गर्ने परम्परा रहिआएका छन् ।

मन्दिरको गजुरमा झण्डा फहराउने काम तुछिमला टोलका अवालहरुले गरिन्छ । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवाल बाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा चलिआएको छ । प्रत्येक बर्ष झै यो बर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिरमा माथि गएर गजुरमा झण्डा फहराएका थिए ।

सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर बानेका थिए । करिव २५,३० फिटको बाँसमा लम्वाई ६६ ईन्च र चौडाई ४४ ईन्चको कपडाको झण्डा फहराइएको थियो । यस्तो ज्यान जोखिममा पारेर काम गर्नु पर्ने अवालहरुलाई भक्तपुर गुठी सँस्थानले आर्थिक ब्यवस्थापन गरिआएको छ ।

नेपाल सम्वत २२ मा भूपतेन्द्र मल्ल राजाले निर्माण सम्पन्न पश्चात असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो बर्षबन्ध (बुसादाँ) पूजा शुरु गरिएको थियो । अहिले सम्म निरन्तर गर्दै आएको सास्कृतिबिद अ‍ोम धौभडेलले बताउनु भयो ।

नेपाल सम्वत ११४० साल असार ८ गतेबाट ङातापोल्ँह (पाँचतल्ले) मन्दिर ३१ बर्ष पूरा भई ३१९ बर्षमा प्रवेश गरेको तलेजुका मुल पूजारी नरेन्द्र जोशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV