१९ असार २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ असार । धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबिच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान झडप नै भएको एसपी बस्नेतले बताउनुभयो । एक पक्षले विद्यालयको जग्गामा बनाउँदा सबै पक्षबीच विमर्श गर्नुपर्ने भनाइ स्थानीयको रहेको छ ।

दुई पक्षबीचको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् भने एक जनाको कान समेत काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भीडलाई तितरबितर बनाउन त्यहाँ प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV