१९ असार २०७७, शुक्रबार
  • बालबिक्रम कार्की,

रौतहट, १९ असार । कुनै समय कोरोनाको केन्द्रको रुपमा विकसित हुँदै गइरहेको रौतहट जिल्लामा कोरोना नियन्त्रण उन्मुख हुँदै गइरहेको छ । जिल्लामा शुक्रबार बिहानसम्म १ हजार १ सय ९० जनामा कोरोना सक्रमण पुष्टि भइसकेको छ ।

यो संख्या देशैभरमा जिल्लागत रुपमा पहिलो हो । केही अघिसम्म कोरोना संक्रमितको संख्या बढ्ने क्रम रहेपनि हाल निको हुने क्रम बढ्दै गएको छ । जिल्लामा हालसम्म ९ सय ९७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अब आइसोलेसनमा १ सय ९३ जना मात्र उपचाररत रहेका छन् । संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानीय तहमा २० वटा आइसोलेसनमा राखेर उपचार गरिएकोमा हाल जम्मा ११ वटा आइसोलेसन मात्र रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण साहका अनुसार यहीँ क्रममा संक्रमित निको हुँदैजाने हो भने अबको १५ दिनपछि आइसोलेसनमा निकै कम संक्रमितमात्र बाँकी रहनेछन् ।

‘क्वारेन्टाइनमा बस्नेहरु पनि कम भइरहेको र समुदायमा स्तरमा पनि त्यति ठूलो संख्यामा संक्रमित नदेखिएकाले जिल्लामा बिस्तारै संक्रमण नियन्त्रणतर्फ उन्मुख हुँदैछ’ उहाँले भन्नुभयो, ‘अब समुदायमा संक्रमण नफैलियोस् भनेर सबै सचेत भएर लाग्नुपर्छ ।’

उहाँले स्थानीय, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्णको सहयोग र साथले गर्दा कोरोना नियन्त्रण गर्न सफलता प्राप्त भएको हो । जिल्लामा हालसम्म ७ सय ५४ जनाको स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

क्वारेन्टाइनमा बस्नेको संख्या घट्यो

कुनै समयमा एकैसाथ १० हजार भन्दा बढी व्यक्तिहरु रहेका क्वारेन्टाइनमा शुक्रबार बिहानसम्म ४ सय ४ जना मात्र रहेका छन् । क्वारेटाइनमा बस्नेहरु मध्ये २२४ जनाको स्वाव परीक्षणको लागि संकलन भइसकेको छ ।

विशेषगरी भारतबाट आउने क्रम सुरु भएसँगै यहाँका विभिन्न स्थानीय तहहरुका क्वारेन्टाइनहरु भरिभराउ भएका थिए । एकैसाथ हजारौँ संख्यामा मानिसहरु भारतबाट फर्किएपछि क्वारेन्टाइन अस्तव्यस्त भएका थिए भने उनीहरुको व्यवस्थापनमा स्थानीय तहलाई निकै हम्मेहम्मे परेको थियो ।

सो समयमा दैनिक सरदर १ हजार हाराहारी व्यक्तिहरु भारतबाट रौतहट आउने गरेकोमा हाल सरदर ३० हाराहारी व्यक्तिमात्र आउने गरेको प्रहरीको तथ्याङ्क छ । अहिले जिल्लामा भारतबाट भन्दापनि तेस्रो मुलुकबाट नेपाल सरकारले उद्धार गरेर ल्याएका मानिसहरुको संख्या बढिरहेको छ ।

जिल्लामा भारतबाट आउनेको संख्या बढेसँगै १ सय ३२ वटा सम्म क्वारेन्टाइन सञ्चालन गरिएकोमा हाल ३० वटा मात्र सञ्चालनमा रहेका छन् ।

सुरक्षाकर्मी पनि संक्रमित

हालसम्म जिल्लामा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा मात्र संक्रमण देखिएको छ । तर पछिल्लो समय क्वारेन्टाइन बाहिर समुदायमा फाट्टफुट्ट संक्रमण देखिन थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हालसम्म १४ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

जसमध्ये ९ जना नेपाली सेना, ४ जना नेपाल प्रहरी र १ जना सशस्त्र प्रहरी रहेका छन् । यसैगरी ४ जना जनप्रतिधि, ३ जना स्वास्थ्यकर्मी र १ जना बैंकमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी अन्य केही सर्वसाधरणमा पनि संक्रमण देखिइरहेको छ ।

सचेत रहन आग्रह

जिल्लामा लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेकाले समुदायमा संक्रमण फैलिने सम्भावना कायमै रहेकाले सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय गौरमा प्रमुख महेस साहले बताउनुभयो ।

उहाँले समुदायमा संक्रमण फैलिन नदिन सबै जिल्लावासी सचेत हुँदै सामाजिक दूरी र व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्नेमा जोडदिदैँ अत्यावश्यक काममा बाहेर घरबाहिर ननिस्कन, भीडभाडमा नजान/नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न सुझाउनुभयो ।

उहाँले जिल्लामा संक्रमणको दर कम हुँदै गएपनि अन्त्य नभएको भन्दै हेलचक्राइ गरे समुदाय स्तरमा ठुलो संख्यामा फैलन सक्ने भन्दै सचेत र सावधान हुन सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV