१९ असार २०७७, शुक्रबार

एजेन्सी, १९ असार । भारतले आफ्ना सैनिकलाई शक्ति सम्पन्न बनाउन ३८ हजार ९ सय करोड भारू खर्च गरेर लडाकु विमान र मिसाइल खरिद गर्ने भएको छ । यसका लागि भारको रक्षा मन्त्रालयले बिहीबार मात्रै मञ्जुरी दिएको छ ।

भारतले चीनसँगको सीमा विवादबीच यस्तो मिसाइल, लडाकु बिमान खरिद गर्नु अन्तर्राष्ट्रिय मुलुकहरुको चासोको बिषय बनेको छ । टाइम्स अफ इण्डियाका अनुसार भारतले ३८ हजार ९ सय करोड भारूले ३३ नयाँ फाइटर जेट विमान, जमिनबाट प्रहार गर्न सकिने ३ सय लामो दूरीका मिसाइल, २ सय ५० वटा एयर टु एयर मिसायल, २१ नयाँ मिग-२९ र १२ सुखोई- ३० एमकेआइ रसियाबाट किन्ने निर्णय गरेको हो।

यो निर्णय भारतीय रक्षामन्त्री राजनाथ सिहंको अध्यक्षतामा बसेको बिहीबारको रक्षा बैठकले गरेको हो । त्यसको अलावा भारतसँगै भएका मिग-२९ जहाजमा थप सुधार गर्ने पनि निर्णय भएको बताइएको छ । जसका लागि भारतले ७ हजार ४ सय १८ करोड भारू करोड खर्च गर्ने भएको छ । त्यस्तै १२ थप सुखोई जहाज बनाउन हिन्दुस्थान एरोनोटिक्सलाई अनुमति दिनेभएको र विमान संचालनका लागि आवश्यक विद्युतिय युद्ध पोशाक र अतिरिक्त सामान तथा पाटपूर्जामा पनि भारतले लगानी गर्ने भएको छ । यसको लागि पनि ठूलो रकम विनियोजन गर्ने तयारी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतको सम्बन्ध पछिल्लो समय छिमेकी मुलकहरुसँग चिसिएको छ । भारत र पाकिस्तान पटक-पटक युद्धको नजिक पुग्दै आएका छन् । चीनसँगपनि पछिल्लो समय सीमामा विवाद हुँदै आएको छ । यद्यपि युद्ध भइहाल्ने स्थिती छैन । केही हप्ताअघि दुवै मुलुकका सीमा पर्ने लद्दाखमा दुई मुलुकका सैनिकहरुबीच झडप भएको थियो । जसमा २० भारतीय सैनिकहरुको ज्यान गएको थियो ।

त्यसयता भारत चीन सम्बन्धमा झनै चिसोपन आएको छ । भारतको नेपालसँग पनि सीमा बिवाद कायमै रहेको छ । भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पीयाधराामा सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV