१९ असार २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, १९ असार । प्रदेश नं. १ को कोरोना जनसुरक्षा कोषमा असार १८ गतेसम्म ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएकोमा करिब २७ करोड ३३ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मिन्त्रपरिषदको कार्यालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश १ सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारको विवरण सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले प्रदेशस्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम क्वारेन्टाइन तथा होल्डिङ एरिया निर्माण तथा व्यवस्थापन, आइसोलेशन अस्पताल व्यवस्थापन, सीमा क्षेत्रमा क्वारेन्टाइन निर्माण, स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई अनुदान र स्वास्थ्य सामग्री ढुवानी कार्यमा जनसुरक्षा कोषको रकम खर्च भएको जनाएको छ ।

सो कार्यक्रममा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना महामारीको संकट आउन सक्ने अनुभूति हुनासाथ प्रदेशमा आईसोलेसन अस्पताल निर्माण र स्थानीय तहहरुमा क्वारेन्टाइन निर्माण कार्य थालेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेकै कारण प्रदेश नं. १ मा कोरोनाको जोखिम न्यून रहेको बताउनु भयो ।

कोरोना जनसुरक्षा कोषमा नेपाल सरकारले ४ करोड र प्रदेश सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको छ भने प्रदेशका पदाधिकारी र कर्मचारी, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था र सर्वसाधारणहरुले सहयोग रकम जम्मा गरेका छन् ।

प्रदेश नं.१ मा असार १८ गते सम्म ६ सय १५ जना कोरोना संक्रमित भेटिएकोमा ४०० जना उपचार पछि निको भएर घर फर्केका छन् भने २ सय १५ जना विभिन्न अस्पताल र आईसोलेसन सेन्टरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV