१९ असार २०७७, शुक्रबार
  • बालबिक्रम कार्की

रौतहट, १९ असार । रकम अभावमा दुई साता अघि सडक दुर्घटनामा परेर घाइते भएकी एक बालिका उपचारमा समस्या उत्पन्न भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ हर्षाहाका राम उदय सिंहकी ८ वर्षीया छोरी निभा कुमारीलाई एक पिक अप भ्यानले गत असार ६ गते ठक्कर दिएर घाइते बनाएको थियो । ठक्कर पश्चात घाइते भएकी उनलाई परिवारका सदस्यले उपचारको लागि बीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगेका छन् ।

दुर्घटनामा परेर खुट्टा र टाउँकोमा गम्भीर चोट लागेको उनका आफन्त दिपेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार घाइते निभाको दाहिने खुट्टा भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । घाइते बालिकाको खुट्टाको अपरेसन भइसकेको र केही दिनपछि टाउकोको अपरेसन गर्ने तयारी भइरहेको उनले बताए । हालसम्म उनको उपचारमा २ लाख हाराहारी खर्च भइसकेको र अझै कति खर्च हुने हो टुङ्गो नरहेको उनको भनाइ छ ।

सामान्य आर्थिक अवस्थामा परिवारकी निभाको उपचारको लागि आफन्तहरुसँग चन्दा र ऋण सापटी लिएको उनका बुबा राम उदय सिंहले बताए । फर्निचर र किसानी काम गरेर परिवार चलाउँदै आएका सिंहलाई अहिले छोरीको उपचार कसरी गर्ने भन्ने तनावले सताउन थालेको छ । ‘भगवानको कृपाले छोरीको ज्यान त बच्यो तर उपचार खर्च कसरी पु¥याउ म तनावमा छँु’ उनले दुःखेसो पोख्दै भने, ‘अहिलेसम्म त ऋण सापटी गरेर उपचार गरिरहेको छुँ । अब के गर्ने , पैसा कसरी जुटाउने थाहा छैन् । ’ चारजनाको परिवार जेनतेन पालिरहेका सिंहलाई छोरीको दुर्घटनाले निकै ठुलो दशा निम्ताएको छ ।

दुर्घटना गराउने पिकअप भ्यान पत्ता लागेन ८ वर्षीया बालिका निभा सिंहलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको पिकअप भ्यान र सो का चालक अझसम्म प्रहरी नियन्त्रणमा आउन सकेको छैन् । बालिकालाई ठक्कर दिए लगतै फरारभएको सो पिकअप भ्यानको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महत्तोका अनुसार ठक्कर दिने पिकअप भ्यानको सीसीटीभी फुटेज प्राप्त गरेपनि सो फुटेजमा गाडीको नम्बर स्पष्ट नखुलेकाले पक्राउ गर्न समस्या परेको हो ।

                                                 बालिकालाई ठक्कर दिने पिकअप भ्यानको सीसीटीभी तस्बीर

उनका अनुसार सो फुटेजमा गाडी स्पष्ट देखिएपनि गाडी नम्बर नदेखिएकाले सो फुटेजबाट गाडी नम्बर पत्ता लगाउन प्रहरीको फरेन्सिक ल्यावमा फुटेज पठाएको जानकारी दिदैँ चाँडैनै चालक र गाडी प्रहरी नियन्त्रणमा हुने दावी गरे । उनले अहिले पनि रौतहट लगायत छिमेकी जिल्लामा समेत रहेका प्रहरी युनिटलाई गाडीको फोटो पठाएर व्यापक रुपम खोजी भइरहेको बताए ।

यता गत शनिबार घाइतेका परिवार र आफन्तले प्रहरीले अनुसन्धानमा ढिलाई गरेको र घटना घटेको लामो समयसम्म पनि गाडी र चालक नियन्त्रण लिन असफल भएको भन्दै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी वल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरवितर गर्दै घाइते बालिकाको बुबालाई नियन्त्रणमा लिएर केही घण्टापछि रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV