१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । पछिल्लो समय दुई अध्यक्षबीच असमझदारीका साथै स्थायी कमिटीका ३० सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा संकट उत्पन्न भइरहेको छ ।

पार्टी र सरकार स्वेच्छाचारी ढङ्गले चलाएको भन्दै नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पार्टीका अन्य शीर्ष नेताहरु नै चिडिएका बेला बिहीबार प्रधानमन्त्रीले एकलौटी ढङ्गले संसद अधिवेशन अन्त्य गरेपछि दुई अध्यक्षबीचको दूरी बढेको हो ।

बिवादको समाधानका लागि सहमति विन्दू खोज्न दूई अध्यक्षबीच बालुवाटारमा अहिले छलफल जारी रहेको छ । दुई अध्यक्षसँगै पार्टी का महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ । नेकपाको जारी स्थायी कमिटी बैठक आजलाई स्थगित गरेर दुई अध्यक्षबीच बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीले भारतको इसारामा आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको प्रतिकृया दिएपछि प्रचण्डले भारतले नभइ आफूले नै राजीनामा मागेको बताउनुभएको थियो । दूई अध्यक्षबीच अन्तरसंघर्षले पार्टी फुट्ने खतरा उत्पन्न भएकाले मध्यस्तरका नेताहरु दुई अध्यक्षलाई मिल्न बिशेष आग्रह गर्दै दबाब दिइरहेका छन् ।

आजको दुई अध्यक्षबीचको छलफलपछि भोलि बिहान ११ बजे पुनः स्थायी कमिटीको बैठक बस्ने कार्यसूची छ । स्थायी कमिटीका अधिक सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । तर ओेली कुनै पदबाट राजीनामा नदिने अडानमा हुनुहन्छ ।

बुधबार बिहान प्रधानमन्त्रीले आफू निकटका स्थायी कमिटी सदस्य र मन्त्रीहरुरलाई बालुवाटार बोलाएर आफू अप्ठ्यारोमा परेको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । बुधबार बेलुका नै अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षले झम्सीखेलमा आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV