१८ असार २०७७, बिहीबार
  • सन्तोष काफ्ले,

सुनसरी, १९ असार । लकडाउन सुरु भएसँगै अस्पतालहरु कोरानासँग सम्बन्धित विरामीहरुमा मात्र केन्द्रित भएपछि अन्य विरामीको उपचार सुरु गरेको ‘हाम्रो हातेमालो फाउण्डेशन’ले १ हजार ८३ जनालाई सेवा दिएको छ ।

कोराना बाहेकका अन्य रोगका विरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था फाउण्डेशनले चैत ११ गतेदेखिनै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।

फाउण्डेसनले हेल्पलाइन बाहेक १० जना विरामीहरुलाई घरमै पुगेर सेवा दिएको छ, भने सामाजिक सञ्जाल मार्फत १ सय २० जनालाई सेवा दिएको छ । त्यस्तै विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागि स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बूले जानकारी गराए ।

उपचारसँगै विभिन्न संघ–संस्थाको समन्वयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री समेत सहयोग गरेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

लकडाउन केही खूकुलो भएपछि हेल्पलाइन सेवा बन्द गरिएको जानकारी दिदै अध्यक्ष लिम्बूले सामाजिक सञ्जालबाट भने सेवा दिइरहने बताए ।

“फेसबुकबाट भने हाम्रो सेवा निरन्तर रहने छ”, उनले भने, ‘हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने छ ।”

अस्पतालहरुले ओपीडी सेवा सुरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागि हेल्पलाइन सेवा स्थगित गरेको र सामाजिक सञ्जालबाट भने उपचार सेवा कायम राखिएको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले बताए ।

चिकित्सक र सर्वसाधारण बीचको दूरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्देश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निःशुल्क औषधिसहित विशेषज्ञ सेवा दिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV