१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक समाधान खोज्नका लागि शनिबारसम्म स्थगित गरिएको बताइए पनि पार्टी भित्रको अवस्था भने गम्भीर मोडमा पुगेको छ ।

पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठक बोलाएर संघीय संसदको वजेट अधिवशनको हठात अन्त्य गरिदा नेकपा भित्र शीर्ष नेताहरुको दूरी झनै बढेको छ ।

‘यो संसद छलेर अध्यादेशमार्फत दल बिभाजन सम्बन्धी विधेयक ल्याउने खेल नै हो ’ स्थायी कमिटी एक सदस्यले न्यूज २४ लाई बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमले नेकपामा विभाजन अवश्यमभावी भएको पनि ती सदस्यको तर्क छ ।

‘पार्टी भित्रको घाउ धेरै पाकिसक्यो, अब अप्रेशनमात्र बाँकी छ’ ती सदस्यले अगाडि भने ‘यो अवस्थामा पार्टी एक भएर बस्नुको अब कुनै अर्थ छैन र यो केही दिन भित्रै प्रष्ट हुन्छ नै ।’

पूर्व माओवादी केन्द्रका नेता रहेका उनले पार्टीको ठूलो पंक्तिले राजीनामा मागिसकेको अवस्थामा मण्डले राष्ट्रवादको शैलीमा अझ पनि सत्तामा टिक्छु भन्ने प्रधानमन्त्री ओलीको अहमले नै पार्टी विभाजनको संघारमा पुगेको बताए ।

अब एकढिक्का भएर हिड्छौ भनिन्छ भने त्यो देखावटी मात्र हुने उनको बुझाई छ । यता ओली निकट एक सदस्यले भने ठूलो अझ सत्ताधारी पार्टीमा यसखालको विवाद देखिुन नौलो नभए पनि अहिलेको अवस्था भने गम्भीर नै भएको स्वीकारे । तर उनले भने ‘दुई अध्यक्ष बसेर छलफल गरिसके पछि कहीं न कहीं एक ठाउँ उभिने सम्भावना हुन्छ नै र त्यो सम्भावना प्रवल छ ।’

संघीय संसदमा नागरिकता विधेयक, कोरोनाको रोकथाम र नियन्त्रणमा सर्वदलीय प्रतिबद्धता र अमेरिकी सहयोग परियोजना एमसीसीलगायत गम्भीर विषयहरु थाँती हुँदा हुँदै एकाएक संसदको अन्त्य गरिनुले पनि प्रधानमन्त्री ओलीमाथि शंका गर्ने धेरै ठाउँ उब्जिएको एक सदस्यले बताए । स्थायी कमिटी बैठक शनिबार बोलाइए पनि पार्टी एकढिक्का रहने नरहने बारेमा भने भोलि शुक्रबार नै केही दृश्य आउने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफुलाई सत्ताच्यूत गर्न छिमेकी भारतको पनि हात छ भनेकोमा ती सदस्यले यस्मा कुनै दम नभएको तर्क गरे । भारत नेपाललाई थप चिढ्याएर नेपालमा भारत विरोधी भावना बढाउने पक्षमा रहे जस्तो आफुलाई नलागेको बताउदै उनले भने ‘सबै अन्तर्राष्ट्रिय समुदाय पर्ख र हेरको अवस्थामा नै छन् । र, यो नेकपा भित्रको अवस्था अब कुनै मुलुकको बसमा छैन पनि,जस्को हस्तक्षेपले मिल्न सकोस ।’

नेपालमा कम्युनिष्ट दलहरु टुक्रिनु र जोडिनु कुनै नौलो घटना भने होइन । यसपटक पनि नेकपा विभाजन भएको खण्डमा यस्ले अब लिने समीकरणलाई लिएर भने बहस समेत हुन थालेका छन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्र जोडिएर नेकपा भएपनि अब विभाजन हुँदा पूर्व एमाले एकातिर र पूर्व माओवादी केन्द्र एकातिर हुने अवस्था भने देखिएको छैन तत्कालको अवस्थालाई हेर्दा ।

एक समय नेकपा संयुक्त र माक्र्सवादी एक भए एउटा पार्टी बने तर बिभाजन हुँदा ४ वटा दल बनेर फुटे । यही अवस्था देखिन सक्ने आँकलन धेरैले गर्न थालेका पनि छ ।

‘तर मुलुक विषम परिस्थितिमा रहेको वखत दुई तिहाई बहुमत प्राप्त शक्तिशाली सरकार ढल्नु देशकै लागि दुर्भाग्य हुने कुराहरुलाई शीर्ष नेताहरुले मनन गर्ने’ओली पक्षधर नेताहरुको विश्वास छ ।
‘लेनदेनमा कुरा मिल्छ, यो ठूलो कुरो होइन, नेकपा एकढिक्का बनेर अघि हिडे कुनै आश्चर्य मान्न पर्दैन’ ती सदस्यले भने ।

तर अवस्था धेरै अगाडि बढिसकेकोले पनि नेकपाको भविष्य यहीरुपमा देख्न मुस्किले पर्ने सम्भावना बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV