१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताउनुभएको छ । विहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीलाई उक्त संकटबाट जोगाउन शनिबारसम्मका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली र अन्य नेताहरूले प्रयास गर्ने जानकारी गराउनुभएको छ । सोही कारण १ दिनको समय राखेर बैठक स्थगित गरिएको उहाँले जनाउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको तर, बसेर संसद् अधिवेशन अन्त्य गरेको भन्दै दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्नुभएको थियो ।

यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाउनुभएको उहाँले जानकारी दिनुभयो । अब शनिबार बिहान ११ बजे नेकपा स्थायी कमिटी बैठक बस्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV