१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपति भण्डारीसंग गर्नु भएको भेटपछि अध्यादेश आउन सक्ने संकेत गरेको भन्दै अध्यक्ष दाहाल शीतल निवास पुग्नुभएको हो । उहाँले राष्ट्रपति भण्डारीसंग ४५ मिनेट कुराकानी गरेर बालुवाटार फर्कनु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संघीय संसदको अधिवेशन स्थगित गरेसँगै आशंका र अविश्वास झन बढेको छ । गत वैशाख दोस्रो साता प्रधानमन्त्री ओलीले ल्याउनुभएको राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश पुनः ब्युँताउन खोजेको प्रचण्ड समूहको आशंका रहेको जनाइएको छ ।

विहीबार नेकपा स्थायी कमिटी बैठक बसिरहेका समयमा मन्त्रिपरिषद् बैठकले संघीय संसद अधिवेशन आज साँझ ५ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै अध्यक्ष दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न पुग्नु भएको थियो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले चाल्ने सम्भावित कदम र कुनै पनि कदमप्रति नेकपासंग छलफल नगरी अघि नबढ्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्नु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV