१८ असार २०७७, बिहीबार

काठमाडौँ, १८ असार । सरकारले अत्यावश्यक सवारी साधन बाहेकलाई चल्न रोक लगाएको अवस्थामा टुटल तथा पठाओ कम्पनीले बिहीबारबाट सञ्चालन हुनेगरी सेवा सुरु गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका बीच टुटल तथा पठाओ सञ्चालनमा आउने भएको हो । असार १ देखि खुकुलाे भएकाे लकडाउनमा निजी गाडीमा ३ जना तथा बाइकमा १ जना मात्र आवतजावत गर्न पाईने भनिएको छ । तीन महिनासम्म बन्द अवस्थामा रहेको सो कम्पनीले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ ।

सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिने उद्देश्यले कम्पनीले सुरक्षाको विधि अपनाई सेवा दिने बताएको छ । तर केही दिनदेखि ट्याक्सी व्यवसायीहरुले पनि स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी सेवा दिन पाउनुपर्ने माग राखिरहेको छन् ।

टयाक्सी व्यवसायीहरुले टुटल–पठाओको सञ्चालनको समयदेखि नै सरकारले यसलाई रोक्नुपर्छ भन्ने माग राख्दै आएका थिए तर सरकारले टुटल–पठाओलाई करको दायरामा ल्याएर सञ्चालन सुरु गरेसंगै सरकारसंग ट्याक्सी व्यवसायीहरु रुष्ट बनेका थिए ।

ट्याक्सी व्यवसायीहरुले केही दिनअघि सुरक्षाको उपाय अपनाएर ट्याक्सी सञ्चालनमा ल्याउन दिन लागि सरकारसँग माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । सरकारले व्यवसायीको मागप्रति अनुदार बनेपनि टुटल–पठाओ भने सरकारले जारी निर्देशन नै तोडेर सेवा पुनः सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा खुकुलो पारिएको लकडाउनकै विरोध भइरहेको बेला सरकारको यथेष्ट साथ पाएको टुटल पठाओले सेवा सञ्चालन गर्नुले कतै यसमा पनि सरकारको हात त छैन भन्ने शंका उत्पन्न गराएको ट्याक्सी चालक विजय केसी बताउछन् ।

उनी भन्छन्, लाखौँको लगानीमा ट्याक्सी किनेको हुन्छ, जसबाटै घरव्यवहार धानेको हुन्छ, त्यस्तो व्यवसायीलाई नहेरे निजी रुपमा चल्न किनिएको बाइकहरुलाई टुटल–पठाओ मार्फत यात्रु ओसार पसार गर्नुले सरकार ट्याक्सी व्यवसायी प्रति कतिसम्म अनुदार छ भन्ने छर्लङ्ग पारेको छ ।

‘तर यता टुटल–पठाओ सञ्चालकहरुले भने यात्रुहरुलाई परेको समस्यालाई मध्यनजर गरी सेवा सञ्चालनमा ल्याएको बताएको छ । टुटल–पठाओ एक सञ्चालक भन्छन्, हामीले राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएका छौं, जसले संक्रमण फैलनबाट रोक्छ ।

खुकुलो पारिएको लकडाउनमा सरकारले सवारी साधन सञ्चालनको लागि नयाँ मापदण्ड बनाएको थियो । जसमा बाइकमा एक जना र निजी सवारी साधनमा ३ जना सम्म चढ्न पाउने बताएको थियो ।

सरकारले लकडाउन खुकुलो बनाउँदा जनताको सुरक्षालाई मध्यनजर गरी सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको थियो । तर सरकारले जारी गरेको निर्देशन नै तोडेर टुटल पठाओ सञ्चालन गर्नाले अव ट्याक्सी व्यवसायी, सरकार र टुटल पठाओका बीचको विवाद सतहमा नै आउने सम्भावना रहेको छ । त्यसमाथि टुटल र पठाओलाई दिइएको छुटले सरकारले आफ्नो निर्णय आफै काटेर जोखिमको स्वागत गरेको टिप्पणी समेत हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV