१८ असार २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, १८ असार । सुर्खेतमा सञ्चालित होटल, रेष्टुरेन्ट र खाजा-नास्ता पसल भोलि शुक्रबारदेखि बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्ट र खाजा-नास्ता पसल (होमप्याक बाहेक) सैलुन तथा ब्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न बुधबार सूचना जारी गरेको छ ।

साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई पुर्ण रुपमा रोक लगाएको छ । निजि सवारी साधनहरुका लागि जोर–बिजोर प्रणालीलाई यथावत रहने प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफूल, तरकारी, दूध, ग्यास, औषधिजस्ता अत्यावश्यक सेवाका पसल शनिबार अनिवार्य बन्द गर्न र अन्य दिनहरुमा बिहान ७ देखि साँझ ५ बजेसम्म सुरक्षा सर्तकता अपनाएर संचालन गर्न निर्देशन दिएको रेग्मीले बताउनुभयो । खुला रहने पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची टाँस गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV