१७ असार २०७७, बुधबार
  • विवेक राई,

भोजपुर, १७ असार । सासंद सुदन किराँतीको पहलमा भोजपुरका ९३ वर्षीय बृद्ध लाटा सार्कीले नागरिकता पाएका छन् । सासंद किरातीले बृद्ध सार्कीले बसोबास गर्दै आएका भोजपुर अरुण गाउँपालिकास्थित प्याउलीको सडकमै पुगेर नागरिकता वितरण गर्ने वातावरण बनाएका हुन् ।

बृद्ध सार्कीलाई प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले नागरिकता प्रदान गरेका थिए । सानै उमेरदेखि मावली घर चम्पेमा बसोबास गर्दै आएका लाटा सार्कीको घर पौवादुङ्मामा रहेको छ ।

बृद्ध सार्की प्याउलीको मुख्य सडकमा विगत २५ वर्षदेखि बेसहारा बनेर बस्दै आएका थिए । सासंद किरातीले ‘कुनै पनि नेपाली नागरिक नेपाली नागरिकता लिनबाट बञ्चित हुने छैन भनेर संविधानमा उल्लेख गरिएको भएतापनि अहिलेसम्म ९३ वर्षीय वृद्धले नागरिकता नपाउनु दुःखद् रहेको बताए ।’

सांसद किरातीले सडकमा नेपाली नागरिक भोकले मर्नु पर्ने वातावरण नरहेको भन्ने सरकारको अभिव्यक्ति आइरहदा लाटा सार्की जस्ता वृद्धहरुले अहिलेसम्म नागरिकता नपाउनु दुःखको विषय भएको बताए ।

उनले भने, ‘सम्बन्धित निकायले चासो नदिँदा दुःख लागेको छ । हरेक नागरिकको अधिकार हो नागरिकता पाउने, तर ९३ वर्षीय वृद्धले नपाउँदा दुःख लागेको थियो । ढिलो भएपनि नागरिकता पाउनुभयो खुसी लाग्यो ।’

सासंद किराँतीका अनुसार वृद्ध सार्कीको संरक्षणका लागि चाडै नै मानव आश्रम केन्द्र विराटनगर लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV