१७ असार २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १७ असार । नागरिकता ऐन संशोधन गर्न सरकारले ल्याउन लागेको विधेयकविरुद्ध नेपाली काँंग्रेसले बुधबार पनि जनकपुरमा प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक विभेदकारी रहेको भन्दै कांँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो ।

नेपाली काँंग्रेस जनकपुर नगरसमितिको अगुवाइमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

जनकपुरधाम–४ स्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन मुरली चोक, राम चोक, जानकी चोकलगायतका स्थानहुँदै जनक चोक पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै कांग्रेस नेताहरूले सरकारले नागरिकता संशोधन विधेयक ल्याएर मधेश र भारतबीचको सम्बन्ध तुहाउन खोजेको दाबी गरेका छन् । मधेश र भारतका नागरिकबीच वर्षौंदेखि हुँदै आइरहेको वैवाहिक सम्बन्धलाई नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान राखेर सरकारले सांस्कृतिक र सामाजिक सम्बन्धमाथि प्रहार गरेको उनीहरूको भनाइ थियो ।

वर्षौंदेखिको सम्बन्ध अन्त्य गर्ने उद्देश्यले ल्याइएको विधेयक फिर्ता नगरिए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्।

नागरिकता विधेयकविरुद्ध कांँग्रेसले जनकपुरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ। जनकपुरका साथै कांग्रेसले बुधबार मध्यतराई अर्थात प्रदेश २ को महोत्तरी, रौतहटलगायतका जिल्लाहरूमा समेत विरोध प्रदर्शन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV