१७ असार २०७७, बुधबार
  • सुमन कार्की,

पाल्पा, १४ असार । बजेट सक्न कुन हदसम्मको हतारो गरिन्छ भन्ने उदाहरण असार लागेपछि देशभर देख्न सकिन्छ । नेपालको अर्थतन्त्रमा मौलिक रोग मानिने यो परम्परा कायम रहदा जनताप्रति उत्तरदायी निकायले कुन हदसम्मको हेलचेक्रयाई गर्छन भन्ने नमूना पाल्पाको तानसेन नगरपालिकाले देखाएको छ ।

तानसेन नगरपालिकाले असार मसान्त भित्रै वजेट सक्ने उद्धेश्यले सिद्धार्थ राजमार्गको वर्तुङ्ग–चुच्चेवारी र तानसेन हार्थोक सडक चौडा गर्दा पहिरोले धनजनको क्षति पुर्याउनुका साथै स्थानीयवासी घरवार विहीन अवस्थामा पुग्न थालेका छन् ।

राष्ट्रिय राजमार्गको काम सडक विभागले गर्ने सरकारको नीति भएता पनि नगरपालिकाले करोडौको वजेटवाट सडक फराकिलो गर्ने काम गरेकोले अहिले यस सडकमा यातायातका साधनले सास्ती खेप्न परेको छ ।

वर्षायाम सुरु भएसंगै वातावरणीय प्रभाव र मूल्याङ्कन नगरी डोजरको प्रयोग गर्दा पहिरोको जोखिमले राजमार्ग आसपास क्षेत्रका घरहरुमा त्रास बढ्दै गएको छ ।
अत्यन्त व्यस्त रहने सिद्धार्थ राजमार्गमा अहिले हिलो र पहिरोको डरले सवारी साधन असुरक्षित हुनुका साथै घण्टौ सम्म जाममा पर्ने गरेको चालक सुनिल घर्तान गुनासो सुनाउछन् ।

असारले विकासका लागि तानसेन नगरपालिकाले यस वर्षमात्र १ करोड रुपैयाँ विनियोजन गरेको हो । सडक चौडा गरेका कारण आफ्नो वारीमा लगाएको मकै समेत नास हुन गै घरवारविहीन हुने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ ।

यस सम्बन्धमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सडकमा यातायातका साधनको चाप वढ्न गएका कारण सडक चौडा गर्नुको विकल्प नरहेको वताउनु हुन्छ ।

सडक चौडा गर्न थालेपछि वर्षासँगै पहिरोले आसपासका घरहरुको वाटोलाई समेत क्षति पुर्याएपछि घर आउने जाने वाटो समेत नभएको स्थानीयको भनाइ छ । एकातिर घर पहिरोमा पर्ने डर अर्को तर्फ कोरोनाका कारण छिमेकीले वासै नदिने हुँदा आफुहरु विचल्लीमा परेको उनीहरुकोे गुनासो छ ।

नगरपालिकाले सडक कार्यालयको क्षेत्राधिकार नै अतिक्रमण गरि वर्षादको समयमा खेति योग्य जमिन कटान मात्र गरेको छैन् । सडक आसपासका वस्तीहरु समेत उच्च जोखीममा परेका छन् ।

नगरपालिकाको असारे विकासको कारण सडक माथिको ५ घर परिवार नै विस्थापित हुने अवस्थामा रहेको पीडित अमर वि।क।को भनाइ छ ।

वर्षा लागेपछि सडकमा जथाभावी डोजरको प्रयोग गर्दा केही दिन पहिलो तानसेन तम्घास सडक खण्डको सम्मोवारीमा पहिरोको कारण चारजनाले ज्यान गुमाउनु परेको थियो ।

असारे विकासले विनास निम्त्याउने हुदाँ समयमै यस्ता योजनाहरु सम्पन्न गर्दा मानवीय र भौतिक क्षति कम हुने हुँदा त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

तानसेन उदाहरण बनेर यहाँ पेश भइरहे पनि अधिकांश स्थानीय तहहरुको चाला यस्तै हुँदा जनताले सास्ती पाउने काम निरन्तर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV