१७ असार २०७७, बुधबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, १६ असार । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा उपभोक्ता समिति र स्थानीयबीच विवाद हुँदा सडक निर्माणको काम अवरुद्ध भएको छ । सुनकोशी गाउँपालिका ७ च्यानमस्थित फलकोडाँडा पारा दोभान जोड्ने मोटरबाटो निर्माणका क्रममा स्थानीय र उपभोक्ता समितिबीचको विवादले सडक निर्माण कार्य अवरुद्ध बनेको हो ।

गाउँपालिका र वडाको करिब ७ लाख रुपैयाँको लागतमा ३ किलोमिटर सडक निर्माण गर्नुपर्ने भएतापनि विवाद उत्पन्न भएपछि बजेट फिर्ता हुने संकेत देखिएको छ ।

स्थानीयले उपभोक्ता समिति गठनमा मनोमानी भएको तथा कोठाभित्र बसेर समिति गठन गरेको आरोप लगाएका छन् । केही दिन अगाडि मात्रै उनीहरुले ७० जनाको हस्ताक्षरसहितको निवेदन वडा कार्यालयमा पेश गर्दै पुनः उपभोक्ता समिति गठन गरेर मोटरबाटो निर्माणको काम सूचारु गर्न आग्रह गरेका थिए ।

तर, स्थानीयले वडा कार्यालयमा दिएको निवेदन एक साता हुन लाग्दा समेत निवेदनमाथि कुनै सुनुवाई नभएको स्थानीय दीपक कार्कीको आरोप छ ।

उपभोक्ता समिति गठनका लागि बोलाइएको आम भेलामा स्थानीयहरु उपस्थित नभएपछि आफूहरुले समिति गठन गरेर काम सुरु गर्ने तयारी गर्दा स्थानीयले अवरोध पु¥याएको फलकोडाँडा पारा दोभान मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष शान्ति बहादुर कट्वालले बताए ।

उनले समिति गठनका लागि स्थानीयहरुलाई खबर गर्दा पनि उनीहरु नआएको र सोही दिन घरघरमै पुगेर हस्ताक्षर संकलन गरेर वडा कार्यालयमा निवेदन बोकेर गएको समेत आरोप लगाए ।

सडक निर्माणका क्रममा एक स्थानीयको करिब १० मिटर जति जमिन सडकले मिच्ने भएकाले सो जग्गा नदिएपछि काम रोकिएको अध्यक्ष कट्वालको भनाइ छ ।

यस विषयमा थप बुझ्न खोज्दा वडा अध्यक्ष श्याम कट्वालसँग भने सम्पर्क हुन सकेन । समितिका अध्यक्ष शान्ति बहादुर कट्वालका अनुसार सडक विवादबारे गाउँपालिका तथा जिल्ला समन्वय समितिसम्म पुगिसकेकोे छ ।

गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले भने दुई गाउँका स्थानीयबीचको बिबादले उपभोक्ता समिति चपेटामा परेको बताए । साथै यो वर्ष उक्त सडक निर्माण हुने सम्भावना कम रहेको पनि सुझाए ।

उक्त सडक निर्माणका लागि गाउँपालिकाबाट रु ५ लाख रुपैयाँ र वडा कार्यालयबाट रु दुई लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV