१७ असार २०७७, बुधबार
  • दानबहादुर बुढा

मुगु , १७ असार । चालु आर्थिक बर्षका लागि खर्च हुन नसकेको विनियोजित रकमबाट जिल्लामा पीसीआर मेसिन खरिद गरिने भएको छ । संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका चार वटै स्थानीय निकायहरुमा यो आर्थिक बर्षमा विनियोजन भएको तर खर्च हुन नसकेको रकमबाट मुगु जिल्ला मै कोरोना परीक्षण गर्न पीसीआर मेशिन खरिद गरिने भएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७६ को तेसो्र संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लाका लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकायाले जानकारी दिनुभयो ।

संशोधन अनुरुप जिल्लामा रहेका पालिकाहरुले साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित भएको रकम मध्ये खर्च हुन नसकी बचत हुन आएको रकम चालु आवको असार १५ सम्म सम्वन्धित पालिको कोभिड १९ को व्यवस्थापनका लागि खोलिएको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र सो रकम कोभिड १९ रोकथाम,नियन्त्रण,निदान र उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्रिपरिषदबाट कार्यविधि संशोधित भै पत्राचार भएकाले सोहि रकमबाटबाट खरिद गरिएको पनि रोकायाले बताउनुभयो ।

कार्यक्रमका निर्देशक समितिका संयोजक एवं मुगु जिल्लाबाट संघीय संसदका लागि निर्वाचित सांसद गोपाल बहादुर बमको संयोजकत्व र समन्वय प्रमुख पूर्णबहादुर रोकाया,प्रजिअ कृष्णकुमार निरौला,प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह,उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा,रेडक्रस सभापति जयबहादुर मल्ल,जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँगे्रस मुगु जिल्ला सभापति खड्क बहादुर शाही,नेकपा प्रतिनिधि मंगल बहादुर शाहीसहितको गत आईतबार बसेको बैठकले स्थानीय तहहरुमा बचेको रकमबाट कोरोना परीक्षण मेसिन,एम्वुलेन्स,भिटिएम किड,व्यवस्थापन खर्च व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताउनु भयो ।

शनिबार बसेको काँगे्रस र नेकपा पाटीको संयुक्त बैठकमा काँगे्रस सभापति खड्गबहादुर शाहीले जिल्ला मै पीसीआर मेसिन खरिद गर्नु पर्ने सुझाव दिएपछि नेकपाका नेताहरुले यो निर्णयमा सहमति जनाउदै सो्रत खोज्न लाग्ने र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमबाट खरिद गर्न संयोजन समितिका संयोजक गोपाल बहादुर बमलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सांसद बमलाई आग्रह गर्दा सहमत भै पीसीआर तथा अन्य सामगी्रहरु खरिद गर्ने निर्णय भएको नेपाली काँगे्रस मुगुका सभापति शाहीले जानकारी दिनुभयो ।

सांसद बमका अनुसार यो बर्ष जिल्लामा रहेका चार वटा स्थानीय तहहरुबाट १ करोड ८४ लाख ७२ हजार २०० रकम खर्च हुन नसकी बचत भएको छ । जसमा छायाँनाथ रारा नगरपालिकामा ६० लाख ७२ हजार २सय , मुगुम कार्मारोङ्ग गाँउपालिकाबाट ६० लाख,खत्याड गाँउपालिकाबाट ४९ लाख र सोरु गाँउपालिका बाट १५ लाख खर्च हुन नसकी बचत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV