१७ असार २०७७, बुधबार
  • विवेक राई

भोजपुर, १७ असार । लाखौँको लगानीमा बनेको एकमात्र भोजपुर बसपार्क पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ । स्थानीय सरकारले चासो नदिँदा सो बसपार्कमा अहिले मनपरी ढंगबाट व्यक्तिगत प्रयोजन बढेपछि बसपार्कको दुरुपयोग बढेको हो ।

करिब ५ वर्षअघि बनेको भोजपुर नगरपालिका-७, कोदारस्थित भोजपुर बसपार्कको दुरुपयोग बढको छ । भोजपुर नगरपालिकाको मातहतमा रहेको बसपार्क हाल व्यक्तिगत र निर्माण कम्पनीको सामान भण्डारण गर्ने ठाउँ बनेको छ । तत्कालका लागि भोजपुर नगरपालिका-७, हटियालाईनमा निजी जग्गामै बनाईएको बसपार्क प्रयोगमा आईरहेको छ ।

बसपार्क व्यवस्थापनका लागि वर्षेनी लाखौँ बजेट लगानी गरिएपनि बसपार्कको उचित व्यवस्थापन नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो । यत्रतत्र राखिएका निर्माणका सामान र व्यक्तिगत प्रयोजनको क्रम बढेपछि बसपार्क यतिबेला कुरुप बनेको छ । बसपार्क व्यवस्थापनमा नगरपालिकाले वेवास्ता गरेपछि दुरुपयोग बढेको स्थानीयबासिन्दाहरु गुनासो गर्छन् ।

सो बसपार्क व्यवस्थापनका लागि जग्गा खरिदबाहेक करिब ८५ लाख बराबरको लगानी भईसकेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले पनि गतवर्ष सो बसपार्क स्तरोन्नतीका लागि २० बजेट विनियोजन गरेको थियो । नगरपालिकाले बसपार्क व्यवस्थापन गरिदिए सवारीसाधन, यात्रुको सुरक्षाको प्रत्याभुति र निजी जग्गामा तिरिने भाडाबाट छुटकारा पाईने बस व्यावसायी सुनाउँछन् ।

यता नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याउने तयारी गर्ने बताएको छ । बसपार्कको सम्पूर्ण पूर्वाधार निर्माण अन्तिम चरणमा पुगिसकेकाले बसपार्कलाई व्यवस्थित गरिने नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताए ।

बर्षेनी राज्यले बसपार्क व्यवस्थापनको नाममा लाखौँको बजेट छुट्याउँछ । तर सम्बन्धित निकायले समयमै बसपार्क सञ्चालनमा ल्याउन ताकेता गरेपनि नगरपालिकाले कुनै विकल्प नसुझाउँदा बसपार्क अव्यवस्थित बनेको छ । निजी जग्गाको भाडा तिर्नुपर्ने, यात्रु र सवारीसाधनको असुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले शिघ्र पहल कदमी बढाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV