१७ असार २०७७, बुधबार

एजेन्सी, १७ असार । इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टस विजयी भएको छ । मंगलबार राति गेनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ३-१ गोलले विजयी भएको हो ।

पाहुना टोली युभेन्टसको जितका लागि पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र डौग्लास कोस्टाले एक एक गोल गरे । गेनोआका लागि आन्द्रेअ पिनामोन्टीले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोसो हाफ सुरु भएको पाँचौ मिनेटमा पाउलो डिबालाले एक्लो प्रयासमा गोल गर्दै युभेलाई अग्रता दिलाए ।

त्यसपछि रोनाल्डोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले पजानिकको पासमा गाेल गरेका थिए ।

७३ औं मिनेटमा डिबालाको पासमा कोस्टाले गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै गेनोआका पिनामोन्टिले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । तर त्यसपछि थप गोल गर्न नसक्दा युभेन्टस ३-१ गोलले विजयी भएको हो ।

युभेन्टसको ७२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लाजियोभन्दा ४ अंकले अघि रहेको छ । मंगलबार नै लाजियो टोरिनोलाई २-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV