१७ असार २०७७, बुधबार

एजेन्सी, १७ असार । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएकाे खेलमा बार्सिलोना एट्लेटिकोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

सुरुआती अग्रता बार्सिलोनाले लिए पनि अग्रता जोगाउन सकेन । १२ औं मिनेटमा बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता लिएको थियो । कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहार एट्लेटिकोका डिएगो कोस्टाले बचाउँँन खोज्दा गोल भएको थियो ।

१७ औं मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्त गाेल गर्दै खेल बराबरीमा ल्यायाे । आर्टुरो भिडालले एट्लेटिकोका यानिक करास्कोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।  डिएगो कोस्टाले प्रहार गरेकाे उक्त पेनाल्टीलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले राेकेका थिए । तर  स्टेगनले पेनाल्टी रोक्दा गोल लाइनभन्दा अगाडि बढेकाले रेफ्रीले फाउल दिदै पुनः दोस्रो पेनाल्टी दिएका थिए । जसमा एट्लेटिकोका सउल निगुएजले बराबरी गोल गर्दै एटलेटिकोलाई खेलमा फर्काए ।

खेलको ५० औं मिनेटमा एट्लेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी अवसर दिएका थिए । मेस्सीले उक्त पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनः २-१ को अग्रता दिलाए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

६२ औं मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्फत गाेल गर्दै खेल बराबरीमा ल्यायाे ।  त्यसपछि दुबै टोलिबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ । बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा  छ भने एक खेल कम खेलेको रियलको ७१ अंक छ । एट्लेटिकोको भने ३३ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV