वीरगञ्जमा नागरिकता ऐन संशोधनविरुद्ध जसपाको विरोध प्रदर्शन



प्रकाशित मिति : Jun 30, 2020
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १६ असार । सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टीले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

जसपाका नेता राजेशमान सिंहको नेतृत्वमा वीरगन्ज स्वीमिङ्गपुलबाट निकालिएको विरोध प्रदर्शन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आवश्यक नै नभएको मुद्दालाई अहिले उठान गरेर मधेशमाथि विभेद गर्न खोजिएको आरोप लगाए ।

उनले भारतबाट विवाह गरेर नेपाल आउने बुहारीमाथिको अधिकारप्रति वर्तमान सरकारले कुदृष्टि लगाएको आरोप लगाए । त्यस्तै, सरकारले यस्तो कुदृष्टि नहटाए २०६२ सालदेखि यही वीरगन्जमा हुँदै आएको आन्दोलन पुनः चर्किन सक्ने चेतावनी समेत दिए ।

मेयर सरावगीले कम्युनिष्ट सरकारले मधेशलाई विकास हुन नदिने, सँधै आन्दोलनको रुपमा प्रयोग गरेर मधेशी जनतालाई वर्वाद गर्ने षड्यन्त्र गरिरहेको भन्दै अहिले पनि मधेशी जनताहरुलाई आन्दोलनको नाममा अल्झाएर देशको सम्पत्ति बेच्ने योजनामा सरकार लागिपरेको आरोप लगाए ।

त्यस्तै, विरोध सभामा सहभागी जसपाका अर्का नेता राजेशमान सिंहले यो ऐनले बुहारीमाथि अन्याय गरेको बताए । उनले सरकारले पुनः मधेशीमाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको भन्दै केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धी विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।

जसपाकी नेतृ करिमा बेगमले सरकारले फेरि महिला तथा मधेशीमाथि विभेद गर्ने गरी कानून बनाउन लागेकोप्रति आपत्ति जनाइन् । विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।

यसरी नै विरोध प्रदर्शनमा सहभागी अन्य नेताहरुले कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक जारी गरी सदियौँदेखिको भारत र नेपाल बीचको सम्बन्ध बिगार्न खोजेको आरोप लगाए ।

उक्त विरोध प्रदर्शनमा शशीकपुर मियाँ, सिपू तिवारी, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, रम्भा मिश्र, बैजुलाल श्वर्णकार, संतोष तिवारी, लियाकत अली, उमेशलाल सहनी, लक्ष्मीकांत तिवारी, फिरोज मन्सुर लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com