राजीनामाको माग : प्रधानमन्त्रीप्रति गुम्सिएको गुनासो मात्र हो यो छिमेकीको छल पनि ? (भिडियो)



प्रकाशित मिति : Jun 30, 2020

काठमाडौं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामासम्मले स्थान पाएको छ । यो विषय डेढ महिना अघिको सचिवालय बैठकमा पनि उठेको हो तर यसपटक उठेको बैठकको धरातल र भूगोल फराकिलो छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नेकपाका शीर्ष नेताहरु नै कुन हदसम्म नकारात्मक बनिसकेका छन भन्ने आजको बैठकले छर्लङ्ग पार्दै गर्दा दुई तिहाईको आँट बोकेको सरकार विचमै धराशायी बन्ने त होइन ? भन्ने प्रश्नले पनि ठाउँ पाएको छ ।

यस पटकको राजीनामाको प्रसंग दल भित्र गुम्सिएको गुनासोदेखि छिमेकी भारतसम्म ठोक्किएको छ, त्यसमाथि पनि दुई देशबीचको परिस्थिति प्रतिकुल बनिरहेको अवस्थामा ।

असार १४ गते मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति हो मंगलबारको स्याथी कमिटी बैठकमा रड्किएको राजीनामाको रडाको ।

उहाँले नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारत, काठमाडौंस्थित भारतीय दूतावास र दलभित्रैबाट सक्रियता बढेको आरोप हाक्काहाक्की लाउनु भएको थियो ।

प्रधानमन्त्री (जेठ १४ गतेको वाइट) यो अभिव्यक्तिपछि जारी नेकपाको स्थायी कमिटी बैठक चर्का–चर्कीको तहसम्म पुगेको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका शीर्ष नेताहरुले नै ‘प्रधानमन्त्री अब राजीनामा दिनुहोस’ भनेको बैठकमै रहेका नेताहरुले बताएका छन् ।

नेकपाकै शीर्षनेताहरुले प्रधानमन्त्री ओली सरकार सञ्चालनमा असफल बनेको टिप्पणी गरेका थिए । पार्टीभित्रको द्वन्द्वले पुनः सरकारको स्थिरतामा प्रश्न उठाएको छ । बेलाबखत आन्तरिक किचलोसँगै बाह्या चलखेल विशेषतः भारतप्रति लक्षित गर्दै अभिव्यक्ति आउने परम्परा जस्तै बन्ने गरेको छ ।

भारतको ‘माइक्रो म्यानेजमेन्ट’ ले नेपाली राजनीति होस् वा कुनै परिवर्तनका सन्दर्भमा प्रयोग हुने गरेको छ । अहिले त भारतले मिचेको कालापानी, लिपुलेक, लिम्पियाधुृरा नेपालको नक्सामा समावेश गरेपछि भारतले नेपालमा आफ्नो अनुकुलको सरकार खोजेको हुन सक्ने अनुमान व्यर्थ हुँदैन ।

सरकार असफलताको विश्लेषण फरक पाटो बन्ला तर, पटक–पटक मुलुकको सार्वभौमिकतामा नेपाली नेताहरुको लघुताभाष कम छैन । ओलीले असार १४ गते दिएको अभिव्यक्ति पहिलो पटकै होइन । २०६२÷६३ को आन्दोलन अघि र त्यसपछि पनि हरेक सरकार परिवर्तनमा नेपाली राजनीतिक दलहरुले भारतलाई जोड्ने गरेका छन् ।

चाहे त्यो गिरिजाप्रसाद कोइराला वा पुष्पकमल दाहाल नै किन नहुन् । सीमा समस्याको तहमा आइपुगेको नेपाल–भारत सम्बन्धको चिसोपनाले कतै न कतै वर्तमान सरकार परिवर्तनमा भारतले खेल्न खोज्ला ! तर, सरकारको कार्यशैलीमा रहेको कमजोरी र नेकपाभित्रैको किचलो माध्यम बन्न सक्छ । यसैलाई छिमेकले प्रयोग गर्ने बाटो प्रष्ट रहन्छ ।

नक्सा जारी भएपछि दलहरुबीच देखिएको अभूतपूर्व एकताको डोरी नागरिकता विधेयकले कमजोर बनाएको महसुस गरिदै गर्दा सत्तारुढ दल भित्रै देखिएको यो ‘कलह’ले चाहनेहरुलाई गोटी चाल्न थप सहज पक्कै हुनेछ ।

त्यसैले पनि प्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्छ भने अर्कोतर्फ पार्टीको आन्तरिक किचलो मिलाउन नेकपा नेताहरु सक्षम बन्नै पर्छ । र राजनीतिक दलहरुले सार्वभौमिकतामा कसैले प्रहार गर्छ भने त्यस्तो छिद्र टाल्न सजग बन्नुपर्नेछ ।

अन्यथा कमजोर हुँदा हेपिदै आएका ‘हामी’ माथि ठूला ठानिएका ‘उनी’हरुले सदैव खेलिनै रहने सत्य छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com