मैदान नै विरानो ठान्न थालेका फुटबल खेलाडीहरुलाई अभ्यासमा फर्काउने एन्फाको तयारी (भिडियो)



प्रकाशित मिति : Jun 30, 2020

काठमाडौं, १६ असार । चार महिना नाघिसक्यो, खेलकुद गतिविधि ठप्प हुदाँ खेलाडीहरु स्वतन्त्र रुपमा मैदान फर्किन पाएका छैन्न् । यसबीचमा कयौँ खेलाडी आर्थिक संकटमा मात्र परेका छैनन, मानसिक तनावमा समेत पर्न थालेका छन् ।

खेलाडीका लागि मैदान विरानो बन्दै गएको छ । तर, अब नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले भने कोरोना भाइरसका कारण रोकिएको राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण चार महिनादेखि खेल गतिविधि बन्द हुदाँ नेपाली खेलाडीहरुलाई यतिबेला मैदान विरानो हुने पीरले सताइरहेको छ । लकडाउन हुनुपूर्व दुई साता अघिदेखि नै प्रशिक्षणबाट टाढिएका खेलाडी अब भने आजित भइसके ।

सधै मैदानको दुबोसँग अभ्यस्त हुने खेलाडी मैदानबाट नै टाढा छन् । तर, सुरक्षित तरिकाले उनीहरु मैदानमा उत्रिन चाहन्छन् । यता, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले पनि रोकिएको राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न प्रारम्भिक तयारीका लागि चरणबद्ध योजना अघि सारेको छ ।

खेलाडी अभ्यासमा फर्काउने एन्फाको योजना

  • १. पहिलो चरणमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिने
  • २. फिफा र एएफसीबाट प्राप्त गाइडलाइन पालना गर्ने
  • ३. स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गर्ने
  • ४. क्वारेन्टाइनका लागि होस्टेल तयार गर्ने
  • ५. खेलाडी तथा अफिसियलको पीसीआर परीक्षण गर्ने
  • ६. खेलाडी क्वारेन्टाइन बसिसकेपछि फिफाको निर्देशिका, राखेप र स्वास्थ्य विज्ञसँगको छलफलपछि अभ्यास सुरु गर्ने

असोजमा घरेलु मैदान दशरथ रंगशालामा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तरगतको छनोटका लागि अभ्यास सुरु गर्नुपर्ने भन्दै एन्फाले सरकारको अनुमति मागेको छ । छनौटका लागि जुलाइ १५ बाट अभ्यास सुरु गर्ने एन्फाको तयारी छ ।

यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् युवा तथा खेलकुद मन्त्रालयमा एन्फाको पत्र अहिले विचाराधीन मात्र छ, अघि बढ्न सकेको छैन । खेलगतिविधि चलायमान बनाउन राखेप पनि सरकारको स्वीकृति पर्खेर बसेको छ ।

यसअघि फागुन अन्तिममा नै राखेप र मन्त्रालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद गतिविधि रोक्न निर्देशन दिएको थियो ।

तर, अहिले मुलुकमा संक्रमण रोकिने छाँट नदेखिएपछि खेलाडी र संघहरु नै गतिविधि सञ्चालन गर्न सरकारलाई दबाब दिन थालेका छन् । तर, सरकारले भने मनोरञ्जन र खेलकुद क्षेत्रलाई आफ्नो प्राथमिकताको पाँचौं चरणमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com