निजामती कर्मचारी विधेयक तत्काल सच्याउन कर्मचारी संघसंगठनको माग



प्रकाशित मिति : Jun 30, 2020

काठमाडौं, १६ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको नेतृत्वमा राष्ट्रिय स्तरका ट्रेड युनियनले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेका छन् ।

उनीहरुले विद्येयकमा भएका गलत प्रावधान सच्याईनुपर्ने माग राख्दै मंगलबारबाटै आन्दोलन सुरु गरेको घोषणा समेत गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुले उपभोग गर्दै आएको ट्रेड युनियन अधिकार लगायतका अन्य सेवा सुविधाहरुलाई कुण्ठित गर्दै यसको अस्तित्व नै समाप्त पार्ने गरी संविधानको धारा ३४ को उपधारा (३) र श्रम ऐन २०७४ को दफा १८० उपदफा १(ख) को विरुद्ध हुने गरी संघीय निजामती सेवा ऐनको विधेयक पारित गरिएको आरोप लगाएको छ ।

सरोकारवालाहरुका रचनात्मक सुझावहरुलाई लत्याउदै, आम सहमति बेगर संसदीय मूल्य, मान्यता विपरीत समितिमा रहेका सदस्यहरुको लिखित असहमति रहँदा रहँदै बहुमतको नाममा गणपूरक संख्या नरहेको अवस्थामा जवरजस्त प्रतिवेदन पारित गरेको निर्णयप्रति पूर्ण असहमति जनाउँदै आधिकारिक ट्रेड युनियले खेद प्रकट गर्नुका साथै आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोला पोखरेलको संयोजकत्वमा ६०१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरी विविध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको कार्यक्रम अनुसार असार १७ गते प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने, असार १८ गते सबै प्रदेश÷जिल्ला÷बिभागीय कार्यसमितिबाट ज्ञापनपत्र बुझाउने, असार १९ गते सबै सरकारी कार्यालयहरुमा हाते पर्चा वितरण गर्ने, असार २० गते बिज्ञ र ट्रेड युनियनहरुबीच अन्र्तक्रियाको आयोजना गरिने र असार २१ गतेदेखि सबै कार्यालयहरुमा मागपत्र छातीमा टाँस गरी आ–आफ्नो कार्यलयमा काम गर्ने रहेका छन् ।

पत्रकार सम्मेलनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले ट्रेड युनियन अधिकारका सम्वन्धमा प्रधानमन्त्री के.पी शर्मा ओलीले २०७५ भदौ २२ गते निजामती सेवा दिवस मूल समारोह कार्यक्रममा सम्बोधनको क्रममा मौजुदा ट्रेड युनियन अधिकारमा कुनै कटौती नहुने प्रतिवद्धता ब्यक्त गरेको कुरा स्मरण गर्दै भन्नुभयो,‘आम कर्मचारीको मनोवल गिर्ने गरी आएको विधेयकप्रति सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरु असहमत प्रकट गर्दै निजामती प्रशासनको अस्तित्वको रक्षाका लागि आन्दोलनको तयारीमा रहन आब्हान गर्दछौं ।’

पोखरेलले अहिले पदवाईज आन्दोलन गर्नुभन्दा पनि सबै एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला भएको आवश्यकत्ता औंल्याउँदै अब हुने आन्दोलनमा सरिक हुन सबैलाई आह्वान पनि गर्नुयभो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रश्न निजामती सेवा ऐन भन्दापनि यो राज्य कतातिर बढ्दैछ ? भन्ने मुख्य रहेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘राज्य व्यवस्था समितिले आम सहमतिका आधारमा यो विद्येयक पारित गर्नुपर्ने थियो , सत्तापक्षकै सांसदहरुको असहमति थियो, अब उहाँहरुले मुखले एउटा कुरा गर्ने र व्यवहार अर्कै गरेको हो भने बुझ्न सकिएन, होईन भने उहाँहरुको पनि अहसमित देखियो , कांग्रेसले त लिखित रुपमै आफ्नो असन्तुष्टि दर्ज गराएको छ ।’

कार्यक्रममा निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले राज्य व्यवस्था तथा सुशासन समितिले नौटंकी गरेको टिप्पणी गर्नुभयो । विभागीय मन्त्रीको असहमति हुँदाहुँदै बहुमतको आधारमा विद्येयक पारित गरिनु दुःखद् भएको उहाँको भनाइ छ ।

विद्येयकमा ट्रेड युयिनको अधिकार कटौती गरिएको उहाँको गुनासो छ । उहाँले समितिबाट पारित भएको विद्येयक नमान्नसमेत अपील गर्नुभयो । उहाँले असार १५ गतेको दिनलाई आफूहरुले कालो दिवसको रुपमा बुझ्नेपनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलले विद्येयकको विरुद्धमा आधिकारिक ट्रेड युनियनको नेतृत्वमा सुरु भएको आन्दोलनमा आफूहरुको पूर्ण एक्येबद्धता रहेको जनाउँदै विद्येयकमा थुप्रै कुरा विभेदकारी रहेको स्पष्ट पार्नुभयो ।

यसैगरी नेपाल मधेशी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले पनि विद्येयकको विरोध गर्नुभयो । उहाँले विधेयकमा भएका गलत प्रावधानहरु तत्काल सच्याउनुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियनले अघि सारेका आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com