कपिलवस्तुमा नागरिकता संशोधन विधेयकको विरोधमा ज्ञापनपत्र बुझाइयो



प्रकाशित मिति : Jun 30, 2020
  • मनोज श्रीवास्तव

कपिलवस्तु, १६ असार । सरकारद्वारा प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा कपिलवस्तुमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ ।समाजवादी पार्टी नेपाल कपिलवस्तुको अगुवाईमा सदरमुकाम तौलिहवा बजारको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अघि पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । पार्टीका केन्द्रीय नेता र प्रदेश अध्यक्षको उपस्थितिमा जिल्ला अध्यक्षहरु शैलेन्द्र यादव र कैलाश अग्रहरीले प्रजिअ दीर्घनारायण पौडेललाई ज्ञापन बुझाउनु भएको थियो ।

ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ ।

बर्तमान कम्युनिष्ट सरकारले मानव अधिकारको बिश्वव्यापी घोषणापत्र बिरुद्ध तथा लैङ्गिक समानतालाई प्रतिकुल हुने गरी नागरिकता संशोधन बिधेयक ल्याएकोले सोको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको जसपाका प्रदेश ५ का अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।

नागरिकता संशोधन बिधेयक खारेज नभए सम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो । कार्यक्रममा जसपा केन्द्रीय नेता रविदत्त मिश्र, अब्दुल रसिद खाँ, नारायण खनाल, मधुसुदनशरण चौधरी, गीता श्रीवास्तव, सन्दीप पाण्डेय, रामनयन यादव, राम प्रकाश चौधरी लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com