१६ असार २०७७, मंगलवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १६ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मंगलबार जनकपुरमा पनि विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा स्थानीय जनकचोकबाट विरोध र्याली निकालिएको थियो ।

जनकचोकबाट पार्टीका नेता कार्यकर्ताहरुको सहभागितामा बाजागाजा सहित निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेता अरगरियाले नेकपाको यस निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाउनुभयो ।

उहाँले राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने गरिएकोे निर्णयप्रति असन्तुष्टि जनाउनुभयो ।समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उहाँले यसबाट अनेक शंका उब्जाएको उल्लेख गर्नु भएको थियो ।

नागरिकता विधेयक मधेशी, मुस्लिम,थारु र जनजाति समुदायको जनभावना विपरीत आएको र सो विधेयक संविधानको मर्म विपरित समेत भएकोले विधेयकको विभेदकारी प्रावधानहरु खारेजी हुनुपर्ने नेताहरुले माग गरेका थिए ।

विरोधसभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिमन थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV