१६ असार २०७७, मंगलवार
  • दान बहादुर बुढा,

मुगु, १६ असार । कर्णाली राजमार्ग अन्तर्गत पर्ने नाग्म गमगढी सडकखण्ड सञ्चालनमा आएको ९ वर्ष वितिसक्दा कालोपत्रे हुन सकेको छैन । हरेक वर्ष सडक डिभिजन कार्यालय जुम्लाबाट सञ्चालन हुने असारे बिकासले यहाँका स्थानीयहरु हैरान भएका छन् ।

नाग्म गमगढीका स्थानीयबासीहरुले उक्त सडकमा सवारी सञ्चालनका लागि कालोपत्रे गरिदिन तथा राम्रोसँग ग्राबेल गरिदिन आग्रह गरेका छन् । नाग्म गमगढी सडक तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ को पुस १ गते उद्घाटन गरेका थिए ।

तर, उद्घाटन गरिएको ९ वर्ष वितिसक्दा पनि उक्त सडक जस्ताको त्यस्तै छ, हिउँदमा धुलाम्मे हुन्छ भने वर्षातमा हिलाम्मे हुन्छ । नाग्म गमगढी सडकखण्डका लागि हरेक वर्ष करोडौं बजेट विनोयोजन हुँदै आएपनि सडकको हालत उस्तै छ ।

बर्खा लागेसँगै उक्त सडकखण्डमा गाडी, बस तथा जीपहरु फस्ने गरेका छन् । हिउँदमा नेपालगञ्जबाट ३ दिनमा मुगु पुग्ने गाडीहरु बर्खा लागेसँगै १२÷१४ दिन लाग्ने गरेको चालक सुरेन्द्र हमालले गुनासो गरेका छन् ।

त्यस्तै, हिमाली जिल्ला भनेर चिनिने मुगु, डोल्पा, र हुम्लाका अधिकांश क्षेत्रहरुमा सडक सञ्जाल नपुगेका कारण त्यहाँका स्थानीयहरुले खच्चड र तुइनको भरमा सामग्री ओसारपसार गर्न बाध्य छन् । गाउँघरमै सिंह दरबार आएको भनिएता पनि त्यहाँका जनताले बिकासको मुहार अझैं पनि देख्न पाएका छैनन् ।

अहिलेको समय कोरोना भाइरस भन्दा बढी मुगालीहरुको ठूलो रोग नाग्म गमगढी सडक बनेको छ । सडक डिभिजन कार्यालय र सडक मर्मतको जिम्मा लिने ठेक्कादारको लापरवाहीका कारण नाग्म गमगढी सडकको हालत यस्तो बनेको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV