१६ असार २०७७, मंगलवार
  • हरिशंकर शर्मा

वीरगन्ज,  १६ असार । वीरगन्ज महानगरपालिकाले साना सिचाई तथा कृषि सामग्री अनुदान कार्यक्रमअन्तर्गत कृषक तथा कृषक समूहलाई विभिन्न कृषि सामग्रीहरु वितरण गरेको छ । महानगरपालिकाका कार्यालयको हाताभित्र आयोजित एक कार्यक्रमबीच मेयर विजय कुमार सरावगीले कृषक तथा कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार साना सिचाइँ कार्यक्रमअन्तर्गत ३३ वटा कृषक समूहलाई ३३ थान पम्पिङ्ग सेट वितरण गरेको छ । वीरगन्ज महानगरपालिकाभरिकै ३२ वटै वडाका कृषक समूहले दिएको निवेदनको आधारमा महानगरपालिकाका आर्थिक विकास समितिले गरेको निर्णयअनुसार ३३ वटा कृषक समूहलाई प्रतिकृषक समूह १ थान गरी ३३ थान पम्पिङ्ग सेट वितरण गरेको हो ।

सूचना अनुसार ८५ प्रतिशत अनुदानमा उक्त पम्पिङ्ग सेट वितरण गरिएको वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन शाखाकी अधिृकत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

यसैगरी कृषि सामग्री अनुदान कार्यक्रमअन्तर्गत ५० जना कृषकहरुलाई ५० थान स्प्रे ट्यांकी तथा ५० थान त्रिपाल वितरण गरिएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ७५ प्रतिशत अनुदानमा ५० जना कृषकहरुलाई स्प्रे ट्यांकी तथा ५० जना कृषकलाई ५० त्रिपाल वितरण गरिएको हो । यसैगरी सोही कार्यक्रमअन्तर्गत ४५ जना कृषकहरुलाई निःशुल्क हर्मेटिक ब्याग पनि वितरण गरिएको छ । प्रतिव्यक्ति १० थानको दरले ४५ जना कृषकहरुलाई ४ सय ५० थान हर्मेटिक ब्याग वितरण गरिएको अधिकृत श्रेष्ठले बताइन् ।

गत २०७६ फागुन ४ गते वीरगन्ज महानगरपालिकाले २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम साना सिचाइँ, भकारो सुधार तथा कृषि सामग्री अनुदान कार्यक्रमका लागि महानगरपालिकाभित्रका कृषक, कृषक समूह, कृषि उद्यमी तथा कृषि सहकारीहरुले निवेदन दिन आह्वान गर्दै सूचना प्रकाशित गरेका थिए । तर फागुन महिनाभरि कोरोना संक्रमणको कारण फाराम संकलन हुन नसकेपछि पुनः २०७७ जेठ २३ गते एक हप्ते सूचना जारी गरी निवेदन दिन आह्वान गरेको थियो ।

त्यही क्रममा परेको निवेदनको आधारमा महानगरपालिकाको आर्थिक विकास समितिले गरेको निर्णयअनुसार कृषक, कृषक समूह तथा कृषि सहकारीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।

महानगरपालिकाले साना सिचाइँ, भकारो सुधार तथा कृषि सामाग्री अनुदान गरी तीनवटा कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण गर्ने भनेकोमा साना सिचाइँ अन्तर्गतको पम्पिङ्ग सेट र कृषि सामग्री अनुदान कार्यक्रम अन्तर्गतको स्प्रे ट्यांकी, त्रिपाल वितरण गरिएको हो । भकारो सुधार कार्यक्रमका लागि भने सम्झौता भइरहेको छ । भकारो सुधार कार्यक्रम अन्तर्गतका कृषि सामग्री ५० प्रतिशत साझेदारीमा सशर्त अनुदानका कार्यक्रमका लागि सम्झौता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV