कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि सल्यानको एक स्थानीय तहका सबै सेवा बन्द



प्रकाशित मिति : Jun 30, 2020

सल्यान, १६ असार  । सल्यानको दार्मा गाउँपालिकाका दुई कर्मचारी कोरोना पोजिटिभ देखिएपछि गाउँपालिकाबाट हुने सबै काम बन्द गरेको छ । दुई कर्मचारीसँगै दुइटा क्वारेन्टाइनमा बसिरहेका ३ जना गरी ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु वडा नं. १ का १ जना, वडा नंग. ५ का ३ जना र वडा नं. ६ का १ जना रहेका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिकाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि सबै सेवा प्रवाह बन्द गरेको जनाएको छ । उनीहरुलाई गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए ।

गाउँपालिकाका कर्मचारीमै कोरोना पुष्टि भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाब संकलन गर्दैछ । कोरोना पुष्टि भएपछि गाउँपालिकाले १० गते बजेट सार्वजनिक गरी पुन: १५ गते बस्नेगरी स्थगित गरेको गाउँसभा समेत अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ ।

दार्मा गाउँपालिकामा यसअघि पनि ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबै निको भएर घर फर्किसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com