‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’ भन्दै ट्याक्सी व्यवसायी प्रदर्शनमा उत्रिए



प्रकाशित मिति : Jun 30, 2020

काठमाडाैं, १६ असार । लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाडाैंका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

सरकारले अहिलेकै स्वरुपमा आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेकाे थियाे ।

उनीहरुले मंगलबार बिहानै नयाँबानेश्वर-तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

यतिका लामो समयसम्म आफूहरुले जिम्मेवार बनेर नै सरकारलाई सघाइरहेको तर, अब हात–मुख जोड्ने विकल्प नै हराएपछि वाध्य भएर व्यवसाय चलाउनु पर्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । तर सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com