१६ असार २०७७, मंगलवार

एजेन्सी, १६ असार । फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ ।

बीबीसीका अनुसार अदालतले पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो । उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

फियोंले आफ्नी पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय युरो आफ्नी पत्नीलाई दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो । फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको छ ।

पेरिस अदालतमा सोमबार फैसला सुनाउने क्रममा प्रमुख न्यायाधीशले भनेका छन् ‘भुक्तानी गरेको रकम उपयुक्त किसिमले सदुपयोग भएको देखिएन । श्रीमती पेनेलोप फियोंलाई कुनै काम नभएको पद सिर्जना गरेर नियुक्त गरिएको देखियो ।’

अदालतको फैसलाप्रति फियों दम्पतीले आफूहरुमाथि वर्तमान राज्यशक्तिले गलत नियत राखेको आरोप लगाएका छन् । उनीहरुले घोषणाविरुद्ध अपिल गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV