कोरोना संक्रमितको उपचार गर्ने अस्पताल र क्लिनिकमा पूर्वाधारको अभाव, अधिकांश भगवान भरोसामा (भिडियो)



प्रकाशित मिति : Jun 29, 2020

काठमाडौं, १५ असार । नेपालमा कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पताल तथा क्लिनिकहरुमा पूर्वाधारको अभाव रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले निष्कर्ष निकालेको छ ।

३० अस्पताल र ९३ क्लिनिकहरुमध्ये ३३ प्रतिशतमा संक्रमणका जटिल बिरामीका लागि सघन उपचार कक्षको व्यवस्था नभएको, ४४ प्रतिशत अस्पतालमा आईसीयू भेन्टिलेटर नभएको, ६७ प्रतिशत अस्पतालमा रियल टाइम पीसीआर ल्याब नभएको पाइएको छ ।

सरकारले कोभिड–१९ परीक्षण गर्न ९३ वटा क्लिनिक तोकेको छ भने संक्रमितको उपचार गर्न ३० वटा अस्पतालको व्यवस्था गरेको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले १४ वैशाखदेखि १४ जेठसम्मको एक महिनामा उक्त कोरोना क्लिनिक र अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसारको परीक्षण र उपचार गर्ने व्यवस्था छ कि छैन भनेर अध्ययन गरेको थियो ।

त्यस क्रममा ३० प्रतिशत अस्पतालमा उही अस्पतालमा कोभिड पहिचान र परीक्षण गर्ने प्राबधान थिएन । अध्ययनले कोरोना भाइरस संक्रमितको उपचार गर्ने ३० अस्पतालको पूर्वतयारी र त्यहाँबाट प्रवाह भइरहेको सेवा प्रभावकारी नभएको देखाएको छ ।

अध्ययन अनुसार ३० मध्ये २३ अस्पतालले संक्रमितलाई लक्षित गरेर आपतकालीन उपचार सेवा उपलब्ध गराउन नसकेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिताल बताउनु हुन्छ ।

अध्ययन प्रतिवेदनमा ६० प्रतिशत अस्पतालहरुमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले तोके अनुसारको स्वास्थ्यकर्मी र चिकित्सकलाई पीपीई सेट नभएको, २४ प्रतिशत अस्पतालमा कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा उपलब्ध हुन नसकेको उल्लेख छ ।

९३ प्रतिशत कोरोना क्लिनिकहरुमा संक्रमित व्यक्तिको मृत्यु भइहाले राख्ने ‘ब्याग’ को व्यवस्था नभएको अध्ययनले देखाएको पनि प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धितालले जानकारी दिनुभयो ।

अनुसन्धानले स्वास्थ्य मन्त्रालयलाई अस्पतालहरूमा देखिएको अभाव हटाउन सहज हुने स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरस संग सम्बन्धित अन्य अनुसन्धानहरु पनि गरेको जानकारी दिएकोछ ।

स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको नमुना लिएर (जिनेटिक सिक्वेन्सिङ) जीनको अध्ययन तथा अनुसन्धान पनि सुरु गरेको छ । एनएचआरसीको प्रतिवेदनलाई हेर्दा अधिकांश अस्पताल र क्लिनिकहरु भगवान भरोसामा रहेको प्रष्ट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com