इथियोपियाका १ सय १४ बर्षीय एक वृद्धले जिते कोरोनालाई
एजेन्सी , १५ असार । इथियोपियामा १ सय १४ वर्षीय एक वृद्धले कोरोनालाई जितेका छन् । अबा तिलाहुन वोल्डेमिकाइल नाम गरेका यी बृद्धका परिवारका अनुसार उनी १ सय १४ वर्षका छन् ।त्यसको अर्थ उनी विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति पनि हुनसक्छन्, तर त्यसलाई पुष्टि गर्न उनीसँग जन्मदर्ताको प्रमाणपत्र छैन । यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन् ।
असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ । आदिस अबाबामा कोरोना परीक्षण गर्ने क्रममा उनीमा पोजिटिभ देखिएको थियो ।
उनलाई लक्षण देखिनुभन्दा पहिले नै अस्पताल भर्ना गरिएको थियो । तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सकेको बताएका छन् ।
चौध दिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो । र उनी निको भएर घर फर्किएका छन् ।