१५ असार २०७७, सोमबार

काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा फरक मत राखेको छ ।

निजामती विधेयक प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवा अन्तर्गत हुने गरी बहुमतले पारित विधेयकमा कांग्रेसले सात बुँदे फरक मत राखेको हो ।

समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकै असहमतिकाबीच निजामती विधेयक बहुमतले पास गरेको हो । बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत राख्ने निर्णय गरेको हो ।

बैठकमा कांँग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडुलगायत देवेन्द्रराज कँडेल, डाक्टर डीला संग्रौला र अमरेशकुमार सिंहले लिखित फरक मत राख्नु भएको हो । निजामती विधेयकको परिभाषा खण्डमा नै काँंग्रेसको फरक मत रहेको उहाँहरुको भनाइ छ ।

समायोजन भएर प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीलाई पनि संघीय सेवा अन्तर्गत ल्याउनुपर्ने, संघीय सेवाको पदपूर्तिमा बढुवामा आन्तरिक प्रतिष्पर्धाको व्यवस्था कायम राख्नुपर्ने, स्थायी कर्मचारीलाई खुला र आन्तरिक प्रतिस्पर्धामा उमेर हद हटाउनुपर्ने, निवृत्तिभरण नपाउने व्यवस्था हटाउनुपर्ने, निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनबारे सरकारले प्रस्ताव गरेको विधेयकको व्यवस्था नै कायम गर्नुपर्ने, साविकको घरेलु तथा साना उद्योग विकास समिति र दुर्गम क्षेत्र विकास समितिका कर्मचारीलाई पनि निजामती सेवामा समेट्नुपर्ने र निजमती सेवा नियमावली, २०४९ अनुसार कर्मचारीले खाइपाइ आएको सुविधा यथावत हुनुपर्ने कांंग्रेसको माग छ ।

बैठकमा सरोकारवाला मन्त्री हृदयेश त्रिपाठीले भने यसमा सरकारको फरक धारणा राख्न पाउनुपर्ने माग गर्नुभएको थियो । उहाँले कर्मचारी समायोजनको व्यवस्था, अवकाशको व्यवस्था, ट्रेड युनियन सम्बन्धि व्यवस्था, समावेशिता र प्रदेश मन्त्रालयका सचिवबारे विधेयकको प्रतिवेदनमा गरिएका व्यवस्थामा आफ्नो असहमति रहेको बताउनुभएको थियो ।

विधेयकको प्रतिवेदनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्रिपाठी र सत्तारुढ नेकपाका सांसदहरूको पनि असहमति छ । नेकपाका सांसदहरूले पनि फरक मत लेख्ने जानकारी दिएका तर फरक मत दर्ता गराइनसकेको राज्यव्यवस्था समिति सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV