१५ असार २०७७, सोमबार
  • सुरेश भट्ट,

कञ्चनपुर, १५ असार । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्वर ४ मा कालोपत्रे गरिएको सडक एक वर्ष नवित्दै उप्किन थालेको छ । त्यस्तै, केही ठाउँमा खाल्डो परेको छ, भने केही ठाउँमा सडक नै भासिएको छ ।

सडक कालोपत्रे गर्ने क्रममा स्टिमेट विपरित गुणस्तरहीन निर्माण सामग्रीहरुको प्रयोग भएको कारण १ वर्ष नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ । २०७६ को जेठ ३ गते श्री जय बाबा बैजनाथ कन्सट्रक्शनले सम्झौता गरेर उक्त सडक कालोपत्रे गरेको थियो ।

श्री जय बाबा बैजनाथ कन्सट्रक्शनले केन्द्रीय सरकार र नगरपालिकाको १ करोड ११ लाख ९ हजार ७ सय ७८ रुपैयाँको बजेटमा ठेक्का पाएको थियो । उक्त सडक कालोपत्रे गर्दा स्थानीय सरकारको मिलेमत्तोमा कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयको आरोप छ ।

उक्त सडकको विषयमा कुरा उठाउँदा जनप्रतिनिधिहरुले उल्टै थर्काउने गरेको स्थानीयहरुको भनाइ छ । सडकको कालोपत्रे उप्किएको र खाल्डो परेको कारण दुर्घटना हुने र खाल्डोमा पानी जम्न थालेको कारण हिँडडुल गर्नसमेत गाह्रो भइरहेको स्थानीयको भनाइ छ ।

यस सडकको विषयमा बारम्बार ताकेता गर्दा पनि इन्जिनियरको निगरानीमै निर्माण कार्य भएको भन्दै नगरपालिकाले टार्न खोजिरहेको स्थानीयको भनाइ छ । यता ठेकेदारले भने पिच उप्किएको सडकमा पुनः कालोपत्रे गर्ने भन्दै टार्न खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV