१४ असार २०७७, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज, १४ असार । नेपालगञ्ज, १४ असार । जथाभावीरुपमा सञ्चालनमा ल्याइएका क्रसर उद्योगहरुले वातावरण पारेको असरका कारण चर्को आलोचना हुन थालेपछि स्थानीय प्रशासनहरुले यसप्रति आफ्नो चासो बढाएका छन् ।

वातावरणमा मात्र नभइ समाजमा पनि विकृति बढाएपछि स्थानीय प्रशासन क्रसर उद्योगहरुलाई अनुशासन र मापदण्डको दायरामा ल्याउन कस्सिएका छन् । यही क्रममा बाँकेका मापदण्ड विपरीत सञ्चालनमा रहेका २४ क्रसर उद्योग बन्द भएका छन् ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका २४ क्रसर उद्योग आइतवारदेखि पूर्णरुपमा बन्द गराएको बाँके प्रशासनले जानकारी गराएको छ । बाँकेमा २७ क्रसर उद्योग मध्ये ३ वटा क्रसर उद्योग मात्र मापदण्ड पु-याएका छन् बाँकी सवै क्रसर उद्योग निकुन्ज, खोला किनार लगायतका विभिन्न मापदण्ड पूरा नगरेको हुनाले उक्त क्रसर उद्योग आइतवारदेखि बन्द गरिएको हो ।

आइतवार जिल्ला समन्वय समितिलले बाँकेमा रहेका मापदण्ड विपरीतका २४ वटा क्रसर उद्योग आईतवारबाट लागू हुने गरी बन्द गरेको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ

क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनःसंरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचीकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तिमा एक विगाहा जग्गा उद्योगको स्वामित्व, लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्दैनन् भने दर्तासमेत भएका छैनन् ।

बाँकेमा सञ्चालित अबैध तथा मापदण्ड विपरीत क्रसर र बालुवा प्रशोधन उद्योगहरु आइतवारदेखि नै विद्युत काटी सञ्चालनमा रोक लगाएको प्रजिअ कुरुम्वाङले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV