१४ असार २०७७, आईतवार
  • केदार शर्मा

चितवन, १४ असार । भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले आफूले प्राप्त गरेको जिम्मेवारी अनुसार तोकिएको तीन बर्षको अवधिभित्र काम गरेर भूमि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।आइतबार चितवनको रत्ननगरमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले डिजिटल प्रणालीको सहयोगले वास्तविक सुकुम्बासीको पहिचान गरेर भूमिहिन सुकुम्वासीहरुको समस्या समाधान गर्ने बताउनु भएको हो ।अध्यक्ष ज्ञवालीले आयोगले स्पष्ट नीति, कानून तथा मापदण्डको व्यवस्था गरेर मात्र कार्यक्रम लागू गर्ने भएकाले पदीय दुरूपयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले अघिल्लो पटक गठन भएका आयोगहरुमा स्पष्ट नीति नभएको गर्दा समस्या उत्पन्न हुने गरेको भएपनि यस पटक नीतिको कुरामा स्पष्ट रहेको बताउनुभयो । उहाँले गरीब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आँफ्नो नजर सधैं परिरहने बताउँदै भूमिहिन जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर काम अगाडि बढ्ने बताउनुभयो ।

संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै ज्ञवालीले संविधानले दिएको अधिकार उपयोग गर्नबाट कोही पनि बञ्चित हुनु नपर्ने बताउनु भयो । देशमा हाल सम्म ११ लाख सुकुम्वासी रहेको भन्दै अब अर्को आयोग गठन गर्न नपर्ने गरी आँफुहरुले काम गर्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो । आयोगले गलत बिवरण पेश गरी सुकुम्वासीको नाम्मा जग्गा लिएको थाहा पाए पाँच बर्ष कैद र निजको जग्गा सरकारले जफत गर्ने कानून ल्याउने तयारी गरेको छ ।

आयोगले प्रत्येक जिल्लामा जिल्ला आयोग गठन गरेर जिल्लाका प्रत्यक पालिकासँग सहकार्य गरेर सुकुम्बासीलाई व्यवस्थिति गर्दै छ । लकडाउन र कोरोनाका कारण तत्काल जिल्लामा आयोग बिस्तार गर्न समस्या रहेको भन्दै यस महामारी पछि आँफुले जिल्लामा आयोग गठन गर्ने अध्यक्ष ज्ञवालीले बताउनु भयो ।

आयोगको २०७६ को निर्देशिका र कार्ययोजना बिषयक अनर्तक्रिया कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आँफुहरु सुकुम्बासी ब्यबस्थापनको काममा लागिसकेको बताउनुभयो । मेयर वनले आयोग गठन पहिलेनै रत्ननगर भित्र बसोबास गर्दै आएका सुकुम्बासीको तथ्याङ संकलन गरेको भन्दै अब आयोग गठन भईसकेको अवस्थामा आयोगलाई काम गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV